Logo

५ असार, काठमाडौँ । सरकारले नागरिकहरूको सहजताका लागि राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्ति आफैँले अनलाइनबाट डाउनलोड गर्न मिल्ने नयाँ सेवाको सुरुवात गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि परीक्षण (ट्रायल) का रूपमा यो डिजिटल सेवा सञ्चालनमा ल्याएको हो ।

अब राष्ट्रिय परिचयपत्र नम्बर (NIN) प्राप्त गरिसकेका नागरिकले विभागको आधिकारिक वेबसाइट https://citizenportal.donidcr.gov.np/ne मा गएर आफ्नो विवरण प्रविष्ट गरी परिचयपत्र डाउनलोड गर्न सक्नेछन् । डाउनलोड गरिएको कार्डमा सम्बन्धित व्यक्तिको फोटो र अनलाइन प्रमाणीकरणका लागि ‘क्युआर कोड’ (QR Code) समेत उपलब्ध हुने विभागले जनाएको छ ।

यो नयाँ प्रणाली सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे विशेष कार्यसूची अन्तर्गतको योजना हो। उक्त कार्यसूचीको बुँदा नम्बर २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो, जसलाई विभागले आजदेखि कार्यान्वयनमा ल्याएको हो।

विभागका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर पाइसकेका नागरिकले प्रणालीमा आफ्नो नाम (नेपाली वा अङ्ग्रेजीमा), जन्ममिति र नागरिकता जारी भएको मिति प्रविष्ट गरेर सुरक्षित रूपमा आफ्नो डिजिटल कार्ड डाउनलोड गर्न सक्नेछन्। यसले परिचयपत्रको भौतिक कार्ड प्रिन्ट भएर आउन लाग्ने लामो समयको पर्खाइलाई अन्त्य गरिदिएको छ।

यसअघि विभिन्न सरकारी तथा सार्वजनिक निकाय वा संस्थाहरूले विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा (स्लिप) हेरेर सेवा प्रवाह गर्दै आएका थिए ।

अब यो अनलाइन सेवा सुरु भएसँगै विभागले सम्पूर्ण सार्वजनिक निकायहरूलाई नयाँ निर्देशिका जारी गरेको छ। जसअनुसार अब उप्रान्त नागरिकले आफैँ डाउनलोड गरेर ल्याएको कार्डमा रहेको क्युआर कोड स्क्यान गरी प्रणालीमा देखिने विवरण र नागरिकले प्रस्तुत गरेको निस्साको विवरण आपसमा रुजु (भेरिफाई) गरेर मात्र सेवा प्रवाह गर्न विभागले विशेष अनुरोध गरेको छ ।


सम्बन्धित समाचार