Logo

५ असार, काठमाडौँ । मध्यपूर्वमा जारी भिषण युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच ऐतिहासिक सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले ह्वाइट हाउसको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गरेको छ । यद्यपि, सुरक्षा निगरानीका लागि केही अमेरिकी युद्धपोतहरू भने अझै त्यस क्षेत्रमा रहने जानकारी दिइएको छ ।

यस सम्झौतापछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन् । गत फेब्रुअरीमा अमेरिकी–इजरायली सैन्य आक्रमणमा आफ्ना पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि सत्ता सम्हालेका मोज्तबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हतास भएर’ यो सम्झौता गरेको दाबी गरे ।

आफ्नो व्यक्तिगत फरक मत रहे तापनि इरानी जनताको अधिकार रक्षा गर्ने राष्ट्रपति मसुद पेजेस्कियानको आश्वासनपछि मात्र आफूले सम्झौता अघि बढ्न दिएको उनले स्पष्ट पारेका छन् । यद्यपि, अमेरिकासँग भविष्यमा हुने वार्ताको अर्थ शत्रुको एजेन्डा स्वीकार गर्नु नहुने उनको चेतावनी छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै अब इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको मोर्चासहित मध्यपूर्वका सबै क्षेत्रमा पूर्ण युद्धविराम हुने अपेक्षा व्यक्त गरेका छन् ।

बीबीसीका अनुसार यस ऐतिहासिक सम्झौतामा १४ वटा मुख्य बुँदाहरू रहेका छन् । जसमा रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘हर्मुजको जलसन्धि’ व्यापारका लागि पुनः खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको आर्थिक पुनर्निर्माणका लागि ३०० अर्ब डलरको अन्तर्राष्ट्रिय कोष स्थापना गर्ने विषय समेटिएको छ । उक्त कोषमा अमेरिकाले भने कुनै पनि आर्थिक योगदान गर्नु नपर्ने समाचारमा उल्लेख छ। आगामी ६० दिनभित्र यस सम्झौतालाई अन्तिम चरणमा पुर्‍याउने लक्ष्य राखिएको छ ।

स्विट्जरल्याण्डमा हुने भनिएको औपचारिक हस्ताक्षर समारोह रद्द भए तापनि दुवै देशका राष्ट्रपतिले भर्चुअल (डिजिटल) माध्यमबाट हस्ताक्षर गरिसकेका छन्। अब प्राविधिक र थप वार्ताका लागि अमेरिकी उप–राष्ट्रपति जेडी भान्स स्विट्जरल्याण्ड जाने तयारीमा छन्।

सम्झौता सार्वजनिक भएसँगै अमेरिका र इजरायलभित्र यसको तीव्र आलोचना सुरु भएको छ । अमेरिकी रिपब्लिकन सिनेटर बिल क्यासिडीले यसलाई ‘दशककै सबैभन्दा ठूलो कूटनीतिक गल्ती’ को संज्ञा दिएका छन्। नाकाबन्दी हटाएर इरानको आणविक महत्वाकांक्षालाई थप बलियो बनाइएको उनको तर्क छ ।

यता, इजरायली क्याबिनेटका कट्टरपन्थी मन्त्रीहरू इतामार बेन ग्विर र बेजालेल स्मोट्रिचले पनि सम्झौताप्रति कडा आपत्ति जनाएका छन् । आलोचनाको जवाफ दिँदै अमेरिकी उप–राष्ट्रपति भान्सले इरानले आफ्ना प्रतिबद्धता पूर्ण रूपमा पालना नगरेसम्म प्रतिबन्धहरू नहट्ने भन्दै सम्झौताको बचाउ गरेका छन् । साथै उनले इजरायली क्याबिनेटलाई वास्तविकता बुझ्न र आफ्नो एक मात्र शक्तिशाली सहयोगी (अमेरिका) माथि जथाभावी प्रहार नगर्न चेतावनी समेत दिएका छन् ।


सम्बन्धित समाचार