५ असार, चितवन । माडी–८ स्थित बैकुण्ठधाम क्षेत्रबाट धनलक्ष्मी झरनातर्फको पदयात्रामा करिब डेढ किलोमिटर उकालो चढेपछि यात्रुहरूको ध्यान खिच्ने एउटा रहस्यमय शिला भेटिन्छ, जसलाई स्थानीयहरूले ‘परशुराम ढुङ्गा’ भनेर चिन्ने गर्छन् ।
घना जङ्गल, चिसो हावा, चराचुरुङ्गीको निरन्तर चिरबिराहट र खोलाको कलकल आवाजबीच रहेको यो स्थान धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम सङै स्थानीय विश्वास र सांस्कृतिक अभ्याससँग जोडिएको महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको छ ।
उक्त ढुङ्गा जमिनमाथिको भागबाट सुरु भई क्रमशः तल बाट माथी जाँदा ठूलो र फराकिलो हुँदै गएको अनौठो संरचना बनेको देखिन्छ। माथिल्लो भागमा देखिने स्पष्ट चिरा र बीचमा बनेको प्राकृतिक खाली स्थानले यसलाई अन्य सामान्य शिलाभन्दा फरक र रहस्यमय बनाएको स्थानीयहरू बताउँछन् ।
स्थानीय किंवदन्ती अनुसार भगवान परशुरामले यही स्थानमा कठोर तपस्या गरेका थिए। तपस्याका क्रममा उनले आफ्नो बन्चरो (परशु) ले प्रहार गर्दा ठूलो शिला दुई भागमा विभाजित भएको विश्वास गरिन्छ। यही धार्मिक आस्था र लोककथाले गर्दा यस स्थानलाई ‘परशुराम ढुङ्गा’ नामले चिनिँदै आएको हो ।
स्थानीय बासिन्दाहरूका अनुसार उक्त फाटेको शिलाको बीच भागबाट छिरेर यात्रा गरे पुण्य प्राप्त हुने गहिरो जनविश्वास रहिआएको छ। यही कारण धनलक्ष्मी झरनातर्फ जाने पदयात्रीदेखि स्थानीय घाँस–दाउरा गर्न जानेसम्म धेरैले उक्त ढुङ्गाको बीच भागबाट छिरेर यात्रा गर्ने परम्परा जस्तै बनेको छ ।
परशुराम ढुङ्गा वरिपरि फैलिएको घना जङ्गल, शीतल हावा र प्राकृतिक वातावरणले यात्रुलाई विश्राम र आकर्षण दुवै प्रदान गर्ने गरेको छ। यहाँ पुग्ने पर्यटकहरू केही समय बस्ने, फोटो खिच्ने र प्रकृतिसँग नजिकिने गर्छन् ।

यसै पदमार्गमा अगाडि बढ्दै जाँदा विशाल जङ्गे साल, त्यसका हाँगामा फुलेका सुनखरी (अर्किड), मनमोहक भीर, दुई खोलीको संगम ‘दोभान’,धनलक्ष्मी झरनाले यात्रुलाई निरन्तर आकर्षित गरिरहेका हुन्छन् ।
धनलक्ष्मी झरना क्षेत्रमा भेटिएका शिला तथा खम्बाजस्ता संरचनाहरूले यस क्षेत्रमा प्राचीन सभ्यता वा धार्मिक गतिविधि भएको हुन सक्ने अनुमानलाई थप बल पुर्याएका छन्। यिनको अध्ययन तथा अवलोकनका लागि माडी नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गर्दै पुरातत्व विभागलाई पत्राचार गरेको जनाएको छ।
बैकुण्ठधाम समितिका अध्यक्ष राजकुमार परियारले यो क्षेत्र धार्मिक, प्राकृतिक र आत्मिक शान्तिको अद्भुत संगम भएको बताए। उनले भने, “बैकुण्ठधाम क्षेत्रमा आउने जो–कोहीले यहाँ शान्ति महसुस गर्छन् ।
त्यस्तै, माडी नगरपालिका–७ देवेन्द्रपुरका खडानन्द काफ्लेले बैकुण्ठधाममा रहेको परशुराम ढुङ्गालाई नेपालमै दुर्लभ प्राकृतिक सम्पदा भएको बताए । उनले भने, “मन अशान्त भयो भने यहाँ आउँछु । यहाँ पुगेपछि मन शान्त हुन्छ, मनका तनाव हराउँछन्। यस्तो प्राकृतिक सम्पदा अन्यत्र कमै पाइन्छ।”
धार्मिक आस्था, लोककथा र प्राकृतिक सौन्दर्यको संगम बनेको ‘परशुराम ढुङ्गा’ अहिले बैकुण्ठधाम–धनलक्ष्मी झरना पदमार्गको प्रमुख आकर्षणमध्ये एक बनेको छ । यो क्षेत्र माडीको सम्भावित प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीयहरू बताउँछन् ।
















