Logo

२१ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सियामा नगर विकास समितिले प्लटिङ गरेको जग्गा आजबाट नापजाँच गरेर छुट्याउन सुरु गरिएको छ । नगर विकास समितिले व्यवस्थित शहर विकास गर्न भन्दै २०४२ चैत २८ मै २६ विघा जग्गामा प्लटिङ गरेको थियो । प्लटिङको बीचमा ६० फिटको फराकिलो बाटो र सहायक सडकहरु ३५/३५ फिटको छुट्याएर नगर विकासले व्यवस्थित वस्ति बसाल्न खोजेको थियो ।

प्लटिङको जग्गा नगर विकाससँग व्यक्तिहरुले खरिद गरेको भए पनि अहिलेसम्म त्यसमा वस्ति भने बस्न सकेको छैन । नगर विकासले नक्सांकन गरेर प्लटिङ गरे पनि नापी कार्यालयले नापजाँच गरेर नक्सा छुट्याउन अवरोध गर्दा अहिलेसम्म पनि त्यहाँ वस्ति विकास हुन नसकेको जानकारहरु बताउँछन् । आजबाट नापी कार्यालय र महानगरपालिकाको संयुक्त टोली नापजाँचमा खटेर सडक तथा नाला छुट्याउने काम गरिरहेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा नापी कार्यालयका प्रमुख नारायण श्रेष्ठले एक हप्ता भित्रमा प्लटिङको जग्गा नापजाँचको काम सक्ने लिखित प्रतिबद्धता जनाए अनुरुप आजैबाट काम अघि बढेको हो । टोलीले बुधबार दक्षिण तर्फ ६० फिटको सडकका साथै ३५÷३५ फिटको ५ वटा सडक नापजाँच गरेर छुट्याइदिनुका साथै किलाकाटी समेत गरेको छ । एक हप्ता भित्र नापजाँच सक्ने गरी काम भइरहेको महानगरको नापी शाखाका प्रमुख देवलाल प्रसादले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार