६ असार, काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै देशका विभिन्न स्थानमा घटेका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परेर १०५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि असार ५ गतेसम्मको (करिब दुई महिना) अवधिमा उक्त क्षति भएको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले दिएको जानकारीअनुसार यस अवधिमा देशभर कुल २ हजार २११ वटा विपद्जन्य घटनाहरू रेकर्ड भएका छन् । ती घटनाहरूमा परेर १०५ जनाको मृत्यु हुनुका साथै ६०५ जना सर्वसाधारण घाइते भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विपद्का कारण देशभरका ३ हजार ९२ वटा घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
विपद्बाट ज्यान गुमाउनेहरूको तथ्याङ्क हेर्दा यो वर्ष सबैभन्दा बढी ‘लेक लागेर’ (अल्टिच्युड सिकनेस) २१ जनाको मृत्यु भएको छ । पर्यटकीय तथा पर्वतारोहणको याम भएकाले हिमाली क्षेत्रमा लेक लाग्ने समस्या बढी देखिएको हो ।
त्यसपछि आगलागीका घटनामा परेर १६ जना तथा सर्पदंश (सर्पको टोकाइ) र चट्याङका कारण १४–१४ जनाले ज्यान गुमाएका छन्। यस्तै, शक्तिशाली हुरीबतासका कारण १३ जना र जङ्गली जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। बाँकी अन्य नागरिकको भने बाढी, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो तथा हिउँ पहिरो जस्ता विपद्मा परेर मृत्यु भएको हो ।
संख्यात्मक हिसाबले यो दुई महिनाको अवधिमा सबैभन्दा बढी ७३६ वटा आगलागीका घटना भएका छन्। सुख्खायाम र बढ्दो गर्मीका कारण बस्ती तथा बजारहरूमा आगलागीका घटना बढेका हुन् ।
यसैगरी हुरीबतासका ४५२, सर्पदंशका २६९, वन डढेलोका १७९, चट्याङका १६०, पहिरोका १२७ र जङ्गली जनावरको आक्रमणका ११४ वटा घटना दर्ता भएका छन्।
मनसुन भित्रिने क्रमसँगै विपद्को जोखिम अझ बढ्दै गएको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशका २६ जिल्लामा ३१ वटा विपद्का घटनाहरू भएका छन् । ती घटनाहरूमा परेर ४ जना नागरिक घाइते भएका छन् ।
असार सुरु भएसँगै बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले प्राधिकरणले देशभरका जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ ।
















