७ असार,सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरमा शनिबार मध्यराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या गरेका छन्।
मृत्यु हुनेमा स्थानीय भुइल रायका ५२ वर्षीय छोरा होशनारायण राय यादव रहेका छन्।
प्रहरीका अनुसार यादव आफ्ना १४ वर्षीय कान्छा छोरा राजकपुरसँग भैँसी गोठमा सुतिरहेको अवस्थामा राति करिब १२ बजे अज्ञात व्यक्तिले घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका यादव घटनापछि आफन्तलाई जानकारी दिन घरतर्फ पुगेका थिए।
परिवारका सदस्यले तत्काल उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदी का अनुसार यादवको शव हाल नगर अस्पताल बरहथवामा राखिएको छ। पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ।
मृतकका जेठा छोरा सुवास कुमार यादवले आफ्ना बुवा नरम र इमानदार स्वभावका व्यक्ति रहेको तथा कसैसँग कुनै विवाद नरहेको बताउँदै हत्याको कारण र संलग्न व्यक्तिबारे अनुमान गर्न समेत कठिन रहेको बताए।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको तथा हत्यामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको जनाएको छ।















