Logo

७ असार,काठमाडौं । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी सन् २०२६ को फिफा विश्वकपले गोलसम्बन्धी नयाँ कीर्तिमान कायम गरेको छ। प्रतियोगिताको ३३औँ खेलमै १०० गोल पूरा भएसँगै यो विश्वकप सन् १९५८ यताकै सबैभन्दा छिटो सय गोल हुने संस्करण बनेको छ।

शनिबार राति नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ ले पराजित गरेको खेलमा डच फरवार्ड कोडी गाक्पो ले गरेको गोल प्रतियोगिताको सयौँ गोल बनेको हो। ६८ वर्षपछि पहिलोपटक विश्वकपको ३३औँ खेलमै सय गोलको आँकडा पार भएको हो।

विश्वकप इतिहासमा सबैभन्दा छिटो सय गोल भने सन् १९५४ मा स्विट्जरल्यान्ड मा आयोजित प्रतियोगितामा पूरा भएको थियो, जहाँ केवल २० खेलमै सय गोलको कीर्तिमान बनेको थियो।

यस संस्करणमा हालसम्म प्रतिखेल औसत ३.०९ गोल भइरहेको छ, जसका आधारमा प्रतियोगिता समाप्तिसम्म ३०० गोल नाघ्न सक्ने अनुमान गरिएको छ। चार वर्षअघि कतार मा सम्पन्न विश्वकपमा प्रतिखेल औसत २.६९ गोल भएको थियो।

लामो दूरीका गोलले बढायो आकर्षण

विश्वकपमा यसपटक लामो दूरीबाट गरिएका गोलले विशेष चर्चा पाएका छन्। किलियन एम्बाप्पे ले सेनेगलविरुद्ध ३३ यार्ड टाढाबाट गरेको गोल प्रतियोगिताका उत्कृष्ट गोलमध्ये एक मानिएको छ। यस्तै स्विडेनका यासिन आयारी, अस्ट्रेलियाका कनर मेटकाफ र मोरक्कोका इस्माइल साइबेरी ले पनि पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक गोल गरेका छन्।

विश्लेषकहरूले यसपटक प्रयोग गरिएको Adidas को ‘ट्रियोन्डा’ बलको विशेष उडान क्षमतालाई पनि गोलको संख्या बढ्नुको एक कारण मानेका छन्। गोलरक्षकहरूले बलको गति र दिशा नियन्त्रण गर्न कठिनाइ भोगिरहेको बताइएको छ।

तापक्रम र खेलाडीका त्रुटिले पनि बढायो गोल संख्या

विशेषज्ञहरूका अनुसार उत्तर अमेरिकामा बढ्दो तापक्रमका कारण खेलाडीहरूमा शारीरिक थकान बढ्दा र रक्षात्मक त्रुटि हुँदा पनि गोलको संख्या बढेको हुन सक्छ। प्रतियोगितामा हालसम्म भएका १०५ गोलमध्ये ३० गोल खेलको ७६औँ मिनेटपछि भएका छन्, जसले अन्तिम समयमा खेलाडीहरूको एकाग्रता कमजोर हुने संकेत देखाएको छ।

यद्यपि गोलको वर्षाबीच केही खेल गोलरहित पनि रहेका छन्। प्रतियोगिताको एक रोचक खेलमा नवप्रवेशी केप भर्डे ले सन् २०१० को विश्वविजेता स्पेन सँग गोलरहित बराबरी खेलेको थियो।

२०२६ विश्वकपमा गोलको उच्च दर कायम रहँदा प्रतियोगिता फुटबल समर्थकका लागि थप रोमाञ्चक बन्दै गएको छ।बीबीसीबाट


सम्बन्धित समाचार