७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा एक विशेष र प्रतीकात्मक माहोलका बीच उद्घाटन भएको छ ।
कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको औपचारिक सुरुआत गरेका थिए । यस क्षणलाई थप अर्थपूर्ण र रोचक बनाउँदै प्रधानमन्त्री बालेनले मञ्चमा उपस्थित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आफैँले घण्टी प्रदान गरी बजाउन लगाएका थिए ।
महाधिवेशनको मञ्चमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका प्रदीप ज्ञवाली, नेकपाका वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए ।
त्यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतसमेत घण्टी बजाउने कार्यमा सहभागी भए। प्रधानमन्त्री बालेनले विपक्षी दलका शीर्ष नेतृत्वलाई रास्वपाको चुनावी चिह्न ‘घण्टी’ बजाउन लगाएको दृश्यले नेपाली राजनीतिमा एक किसिमको नयाँ कूटनीतिक र राजनीतिक सौहार्दताको संकेत गरेको छ ।
विभिन्न विचारधाराका नेताहरूले एकै मञ्चमा उभिएर रास्वपाको घण्टी बजाएको यो दृश्यले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर सहकार्य र संवादको संस्कृतिलाई मलजल गर्न खोजेको देखिन्छ ।
प्रधानमन्त्री बालेनको यो विशेष शैली र विपक्षी नेताहरूको सहभागिताले रास्वपाको प्रथम महाधिवेशनलाई राष्ट्रिय राजनीतिमा एक फरक र यादगार कार्यक्रमको रूपमा स्थापित गरेको छ ।















