७ असार,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल छेउमा सञ्चालित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) आइतबारदेखि नयाँ स्थानबाट सञ्चालनमा आएको छ।
मुख्य सडक (मेनरोड) विस्तारका क्रममा नारायणी अस्पताल नजिक रहेको ब्लड बैंकको भवन भत्काइने भएपछि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले रक्त सञ्चार केन्द्रलाई घण्टाघर नजिक रहेको आफ्नै भवनमा स्थानान्तरण गरेको हो।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलका अनुसार आइतबारदेखि ब्लड बैंकका सम्पूर्ण सेवा घण्टाघरस्थित रेडक्रस भवनबाट सञ्चालनमा ल्याइएको छ। रक्तदान, रगत संकलन, परीक्षण तथा वितरणलगायतका सबै सेवा नयाँ स्थानबाट नियमित रूपमा उपलब्ध हुने उनले बताए।
सडक विस्तारका कारण भवन स्थानान्तरण गर्नुपरे पनि रक्त सञ्चार सेवामा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्थापन गरिएको रेडक्रसले जनाएको छ। नयाँ स्थानमा सेवा सञ्चालन भएसँगै रक्तदाता तथा सेवाग्राहीलाई घण्टाघरस्थित रेडक्रस भवनमा सम्पर्क गर्न आग्रह गरिएको छ।
वीरगन्जको मुख्य सडक विस्तार अभियान अन्तर्गत विभिन्न संरचना हटाउने क्रम जारी रहेकाले प्रभावित संस्थाहरूलाई वैकल्पिक स्थानमा सेवा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसै क्रममा ब्लड बैंक पनि नयाँ भवनमा सारिएको हो।















