Logo

८ असार, चितवन । चितवनको भरतपुरमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै आज सोमबार बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकलाई सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटरले पछाडिबाट तीव्र गतिमा ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर–२० बस्ने १९ वर्षीय राजीव गुरुङ गम्भीर घाइते भएका थिए ।

दुर्घटनालगत्तै उद्धार गरी उनीहरूलाई तत्काल अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय र जिल्लाबाट खटिएको टोलीले ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई सवारी साधनसहित नियन्त्रणमा लिएको छ ।

चालकको लापरवाही वा स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको हो भन्नेबारे प्रहरीले हिरासतमा रहेका थोकरमाथि सोधपुछ गर्दै थप अनुसन्धान अघि बढाएको छ ।


सम्बन्धित समाचार