Logo

९ असार, चितवन । भरतपुर महानगरपालिका–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई खाद्य गुणस्तर र उपभोक्ता स्वास्थ्यसम्बन्धी गम्भीर लापरबाही गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

होटलमा उपलब्ध गराइएका खाद्य सामग्रीको गुणस्तरबारे उपभोक्ताबाट गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले आकस्मिक निरीक्षण गरेको थियो। अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा पर्याप्त ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने किसिमले खाद्य सामग्री बिक्री–वितरण गरेको पाइएको प्रशासनले जनाएको छ।

उक्त होटल हाल चर्चामा आएको थियो। बिहीबार दिउँसो गृहमन्त्री सुधन गुरुङलाई परोसिएको अमलेटमा माछाको काँडा भेटिएको घटना सार्वजनिक भएपछि होटलको सेवा र खाद्य सुरक्षामाथि प्रश्न उठेको थियो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार होटलको गतिविधि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ विपरीत देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा ९१० को खण्ड ९ख० अनुसार ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।

गृहमन्त्रीलाई परोसिएको अमलेटमा माछाको काँडा भेटिएको होटल यही हो वा होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा थिङले कारबाही गरिएको होटल त्यही रहेको पुष्टि गरेका छन्।

प्रशासनले जरिवानासँगै होटलबाट बरामद गरिएका अखाद्य तथा गुणस्तरहीन खाद्य सामग्री तत्काल नष्ट गर्न निर्देशन दिएको छ। साथै व्यवसाय सञ्चालन गर्दा न्यूनतम खाद्य मापदण्ड पालना गर्न र उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित व्यवसायीलाई सचेत गराइएको छ।

यता भरतपुरमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन चलिरहेका बेला होटल तथा रेस्टुरेन्टहरूको सेवा र खाद्य गुणस्तरमाथि प्रशासनले निगरानी बढाएको छ। सोही अभियानअन्तर्गत गरिएको अनुगमनमा लर्ड्स बिजनेस कम्प्लेक्स होटल कारबाहीमा परेको प्रशासनको भनाइ छ।


सम्बन्धित समाचार
भर्खरै