Logo

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा प्राविधिक व्यवस्थापन नमिल्दा केन्द्रीय सदस्य चयनका लागि आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया अन्योलमा परेको छ ।

९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको भए पनि निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली (सर्ट लिस्ट) समयमै प्राविधिक टोलीलाई बुझाउन नसक्दा मतदान कार्य लम्बिने भएको हो ।

विद्युतीय भोटिङ मेसिनमा खुला र विभिन्न समावेशी क्लस्टर (समूह) हरू मिलाएर उम्मेदवारहरूको नाम प्रविष्ट (सेटिङ) गर्नुपर्ने हुन्छ । तर, आयोगबाट आधिकारिक सूची पाउन ढिलाइ भएकाले मेसिनमा डेटा इन्ट्री गर्ने काम ढिलाई भएको प्राविधिक नवराज पाण्डेले जानकारी दिए ।

“हामीले बिहान ४ बजेसम्म काम गरेर प्राविधिक रूपमा सबै तयारी पूरा गरिसकेका थियौँ । तर, आयोगबाट उम्मेदवारको लिस्ट आउनेबित्तिकै क्लस्टरका आधारमा मेसिनमा सेटिङ मिलाउनुपर्ने हुन्छ । यो सबै प्रक्रिया मिलाउन समय लाग्ने भएकाले मतदान सुरु हुन ढिलाइ हुने हो,” पाण्डेले भने ।

रास्वपा निर्वाचन आयोगका अनुसार ९९ केन्द्रीय सदस्य पदका लागि कुल ४०० जनाभन्दा बढीको उम्मेदवारी परेको छ । महाधिवेशनमा देशभरीबाट आएका करिब ४ हजार ५ सय प्रतिनिधिहरू मतदान प्रक्रियामा सहभागी हुँदै छन् ।

उम्मेदवारहरूको सङ्ख्या अत्यधिक भएको र फरक-फरक क्लस्टरमा गरी मत हाल्नुपर्ने भएकाले एक जना प्रतिनिधिलाई मात्रै आफ्नो मतदान पूर्ण गर्न कम्तीमा २० मिनेट लाग्ने प्राविधिकहरूको भनाइ छ । यदि सबै प्रतिनिधिहरू मतदानमा सहभागी भएमा मतदान प्रक्रिया पूर्ण रूपमा सम्पन्न हुन मात्रै १५ देखि २० घण्टासम्मको समय लाग्ने अनुमान गरिएको छ ।

रास्वपाले महाधिवेशनलाई प्रविधिमैत्री बनाउन स्वदेशमै विकसित चर्चित ‘राम-लक्ष्मण भोटिङ मेसिन’ को प्रयोग गरेको छ । मतदान स्थलमा ८० वटा मेसिनहरू पूर्ण तयारी अवस्थामा राखिएको छ ।

यसपटक आयोगले देशभित्र र बाहिरका प्रतिनिधिका लागि दुईवटा छुट्टाछुट्टै विधि तय गरेको छ । नेपालमा रहेका प्रतिनिधिहरूले भौतिक रूपमा मेसिनमार्फत मत हाल्नेछन् भने प्रवास (विदेश) मा रहेका प्रतिनिधिहरूका लागि रास्वपाको विशेष मोबाइल एपमार्फत मतदान गर्ने डिजिटल व्यवस्था मिलाइएको छ ।

पार्टीको केन्द्रीय सभापति पदमा रवि लामिछाने हिजो नै निर्विरोध निर्वाचित भईसकेका छन् । रास्वपाको विधानअनुसार केन्द्रीय समिति कुल १५१ सदस्यीय रहनेछ, जसमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । पहिलो चरणअन्तर्गत आज ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुन लागेको हो । यो चरण सकिएलगतै दोस्रो चरणमा बाँकी अन्य पदाधिकारीहरू चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै