Logo

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज चितवनमा हुने निर्वाचनका लागि तयारी तीव्र पारिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार ९९ सदस्यीय केन्द्रीय समितिको चयनका लागि ८० वटा विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन) को व्यवस्था गरिएको छ । ४०० भन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा रहेकाले मतदान प्रक्रियालाई सहज बनाउन र समयको बचत गर्न यति ठूलो संख्यामा उपकरणको प्रयोग गर्न लागिएको हो ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीले दिएको जानकारीअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै उपकरणमा उनीहरूको नाम र तस्बिर प्रविष्ट गरिनेछ । मतदान सुरु हुनुअघि प्रविधि जाँचका लागि पाँचवटा उपकरणबाट नमुना मतदान गर्ने तयारी पनि गरिएको छ ।

विभिन्न ‘क्लस्टर’ हरूबाट ठूलो संख्यामा उम्मेदवारी परेकाले मतदानमा केही बढी समय लाग्ने अनुमान गरिएको भए तापनि, मतदान सम्पन्न भएको दुई घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने गरी आयोगले काम गरिरहेको छ ।

यसैबीच, महाधिवेशनका सन्दर्भमा अन्य विविध चर्चा पनि उत्तिकै भइरहेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चितवनको भ्रमणका लागि सन्देश दिँदै ‘भिजिट चितवन, न्यानो ठाउँ’ भनेका छन् भने अर्कोतर्फ महाधिवेशन बहिष्कार गरेका नेता अमरेश सिंहले रास्वपा सभापति रवि लामिछानेलाई भिन्न शैलीमा बधाई दिएको विषय पनि चर्चाको केन्द्रमा रहेको छ ।


सम्बन्धित समाचार
भर्खरै