Logo

१३ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको सफलतापूर्वक सम्पन्नतासँगै आफ्नो पार्टीले देशकै एक प्रमुख र परिपक्व राजनीतिक शक्तिका रूपमा वैधानिकता प्राप्त गरेको दाबी गरेका छन् ।

चितवन उद्योग सङ्घको प्रदर्शनी हलमा आयोजित बन्दसत्रस्थलमा हिजो साँझ रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै उनले राष्ट्र निर्माणको महाअभियानमा पार्टी अब थप जिम्मेवार र प्रतिबद्ध भएर अगाडि बढ्ने दृढता व्यक्त गरे । सम्बोधनका क्रममा उनले अनेकन कठिनाइ र मौसमको प्रतिकूलताका बाबजुद महाधिवेशनमा उत्साहजनक सहभागिता जनाउने प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई विशेष धन्यवाद समेत ज्ञापन गरे ।

पहिलो पटक महाधिवेशन आयोजना गर्दा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरीहरू भएको स्वीकार गर्दै सभापति लामिछानेले आगामी दिनमा पाठ सिक्दै अझ सचेततापूर्वक र परिपक्व ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

महाधिवेशनका क्रममा चर्चामा आएका प्यानल र लिस्टका विषयमा टिप्पणी गर्दै उनले भने, “हाम्रा आम पार्टी सदस्य र मतदाताहरूले पूर्ण विवेक प्रयोग गरेका छन्। उनीहरूका लागि कुनै प्यानल वा ग्रुप थिएन, बनाउनेहरूले बनाए होलान्। त्यो पछि अध्ययन र समीक्षाको विषय बन्ला, त्यसमा हामी अध्ययन गरौँला।” उनले भर्खरै पार्टी प्रवेश गरेका साथीहरूलाई पनि महाधिवेशन प्रतिनिधिहरूले उच्च मत दिएर जिताउनुले रास्वपामा सबैलाई समान स्वागत छ भन्ने उत्कृष्ट लोकतान्त्रिक सन्देश प्रवाह भएको उल्लेख गरे ।

आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न हुन सक्ने सम्भावित गुटबन्दी र मनमुटावलाई महाधिवेशन हलभित्रै अन्त्य गर्नुपर्नेमा उनले विशेष जोड दिए । नयाँ र पुराना साथीहरूको सम्बन्धलाई दुई नदीको संगम जस्तै भएको टिप्पणी गर्दै उनले दुवै पक्षलाई मिलाएर लैजाने चेतना नै बलियो रास्वपाको मुख्य आधार भएको बताए ।

“नयाँ र पुरानोको द्वन्द्व पनि आज अन्त्य भएको छ । यो गुट र त्यो गुटको कुरा पनि समाप्त भएको छ,” नेता-कार्यकर्तालाई एकजुट हुन आह्वान गर्दै लामिछानेले भने, “यदि गुटबन्दीका अंशहरू केही बाँकी रहेका छन् भने, यसलाई यहीँ अन्त्य गरेर जाऔँ । कहीँकतै वैमनस्यता बाँकी रहेको छ भने, त्यसको अन्त्येष्टि यही हलबाट गरेर हामी राष्ट्र निर्माणको एउटै लक्ष्यमा अगाडि बढ्नुपर्ने हुन्छ।”

जनताले राखेको ठूलो आशा र भरोसालाई मर्न नदिने संकल्प दोहोर्‍याउँदै सभापति लामिछानेले देशको भविष्य र वर्तमान व्यवस्था परिवर्तनका लागि रास्वपाका हरेक नेता, सांसद र कार्यकर्ता अत्यन्तै जिम्मेवार हुनुपर्ने बेला आएको बताए । उनका अनुसार नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको औपचारिक शपथग्रहण कार्यक्रम भने काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा विशेष समारोहका बीच आयोजना गरिनेछ ।


सम्बन्धित समाचार