Logo

१३ असार,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण प्रक्रिया आजदेखि सुरु भएको छ।

विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत कार्यतालिका अनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको छ।

उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, संस्थागत सुदृढीकरण तथा सक्षम र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यसहित सुरु गरिएको यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

छनोट प्रक्रियामा पारदर्शिता, निष्पक्षता र वस्तुनिष्ठतालाई प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषय क्षेत्रका विज्ञ तथा छनोट समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ। साथै, प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानल गठन गरिएको मन्त्रालयले जनाएको छ।

कार्यतालिका अनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण कार्यक्रम भोलि र पर्सि क्रमशः सञ्चालन हुनेछ। यससँगै आठवटै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया निर्धारित समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति अघि बढाइएको हो।

सरकारले गत वैशाख २४ गते आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेको थियो। जेठ १३ गतेको बैठकले प्रारम्भिक छानबिनपछि योग्य उम्मेदवारहरूको सूची तयार गरेको थियो।

अब विज्ञहरूले दिएको अंकका आधारमा अन्तिम मूल्याङ्कन गरी सिफारिस समितिले उपकुलपतिको नाम कुलपतिलाई सिफारिस गर्नेछ। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहको निर्देशनमा शिक्षा तथा खेलकुदमन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै