Logo

१३ असार,काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको जंगलमा वीभत्स हत्या भएको छ। प्रहरीका अनुसार बालकको शव शुक्रबार धनगढी–गौरीगंगा सीमा क्षेत्रको कालिका सामुदायिक वनभित्र फेला परेको हो।

परिवारका अनुसार बुधबार दिउँसो घरबाट साइकल लिएर निस्किएका तनुज केही समयपछि आफ्नै उमेरका साथी राम चौधरीसँग भेटिएका थिए। त्यसपछि दुवै जना गौरीगंगा नगरपालिका–६ मोया क्षेत्रमा पुगेका थिए, जहाँ उनीहरू स्थानीय खेत र खोलामा घुमफिरमा सहभागी भएका थिए।

अनुसन्धान विवरण अनुसार उनीहरूले स्थानीयसँग मिलेर खोलामा गंगटा मार्ने र त्यसलाई पकाएर खाने कामसमेत गरेका थिए। सोही क्रममा उनीहरू घरेलु मदिरा सेवनमा समेत संलग्न रहेको खुलेको छ। त्यसपछि साँझ बालक घर फर्किने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। खोजीका क्रममा प्रहरीले शुक्रबार जंगलभित्र बालकको शव फेला पारेको हो। घटनास्थलमा बालकको साइकल, चप्पल, रगतका छिटा तथा गंगटाका अवशेषसमेत भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा बालकको हत्या लुटपाटका लागि गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतकले लगाएको करिब एक आना सुनको मुन्द्रा गायब रहेकाले त्यसकै लागि हत्या गरिएको आशंका गरिएको छ।

घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा चार जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूमध्ये एक जना नाबालक रहेको प्रहरीले जनाएको छ। तर एक जना स्थानीय युवक भने फरार रहेका छन् र उनको खोजी जारी छ।

प्रहरीले घटनालाई गम्भीर आपराधिक अनुसन्धानको रूपमा अघि बढाएको छ भने दोषीको पहिचान र उद्देश्यबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार