१३ असार,काठमाडौं । देशमा मनसुन भित्रिएको एक सातासम्म कमजोर रहे पनि आउँदो बुधबारदेखि देशभर वर्षा हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन्।
पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बुधबारदेखि अधिकांश स्थानमा वर्षा हुने देखिएको छ। उनका अनुसार पश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने बिहीबारदेखि मात्र वर्षा सक्रिय हुने सम्भावना छ।
मौसमविद्का अनुसार पूर्वको मेचीदेखि पश्चिमको नारायणीबीचका तराई क्षेत्रमा आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै पूर्वी पहाड तथा मध्यपहाडका केही क्षेत्रमा आज–भोलि पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
उपाध्यायले असार २२ देखि २९ गतेसम्म देशभर नै तुलनात्मक रूपमा ठूलो वर्षा हुने सम्भावना रहेको जानकारी दिएका छन्, जसले धान रोपाइँका लागि अनुकूल अवस्था सिर्जना गर्न सक्नेछ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले अबको ३–४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्ण रूपमा विस्तार हुन सक्नेछ।
यस वर्ष सरदर मितिभन्दा ६ दिन ढिला गरी असार ५ गते पूर्वी नेपालमा प्रवेश गरेको मनसुन असार ८ गतेदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म विस्तार भएको थियो। हाल मनसुन कमजोर अवस्थामा रहे पनि आगामी दिनमा सक्रिय हुने संकेत देखिएको मौसमविद्ले बताएका छन्।

















