१३ असार,सप्तरी । वर्षायाम सुरु हुनासाथ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा बाढीको त्रासमा बाँच्न बाध्य भएका छन्। नदीको सतह बढ्ने चिन्ता र रातिको समयमा आउने सम्भावित बाढीको डर यहाँका स्थानीयका लागि वर्षौँदेखिको समस्या बनेको छ।
हालै सार्वजनिक एक अध्ययनले गाउँपालिकामा बाढी जोखिम अत्यन्तै उच्च रहेको देखाएको छ। मर्सीकोर्प्स नेपाल र कोका–कोला फाउन्डेसनको सहयोग तथा आसमान नेपालद्वारा सञ्चालित परियोजना अन्तर्गत गरिएको घरधुरी सर्वेक्षणअनुसार गाउँपालिकाका करिब २५ प्रतिशत घर अति उच्च जोखिममा रहेका छन्।
अध्ययनले जोखिमको मुख्य कारण कमजोर आवास संरचना र भौगोलिक अवस्थालाई देखाएको छ। नदी किनारका धेरै घर फुस तथा कमजोर सामग्रीबाट बनेका छन् भने ९७ प्रतिशत घर एकतले मात्र रहेको पाइएको छ। यसले आकस्मिक बाढीका बेला सुरक्षित आश्रयको अभाव हुने देखाएको छ।
त्यस्तै, ८१ प्रतिशत घर जमिनको सतहसँगै वा अत्यन्तै कम उचाइमा निर्माण गरिएका कारण पानी पस्नेबित्तिकै ठूलो क्षति हुने जोखिम उच्च रहेको अध्ययनले जनाएको छ।
गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलका अनुसार समुदायलाई विपद् व्यवस्थापनमा सक्षम बनाउन खोज तथा उद्धार, प्राथमिक उपचार र विपद् व्यवस्थापन तालिम सञ्चालन गरिएको छ। साथै नयाँ घर निर्माण गर्दा कम्तीमा पाँचदेखि सात फिट उचाइमा जग राख्न प्रोत्साहन गर्ने नीति ल्याउने तयारी गरिएको छ।
विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार पूर्वसूचना प्रणाली सुदृढ पारिएको छ र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाइएको छ। समुदायमा नियमित कृत्रिम अभ्यास र तालिमसमेत सञ्चालन भइरहेको छ।
आसमान नेपालका कार्यक्रम प्रबन्धक अशोककुमार यादवले आठवटै वडामा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरी स्थानीय स्वयंसेवकको क्षमता विकास गरिएको जानकारी दिएका छन्।
तर स्थानीयको मुख्य चिन्ता खाँडो नदीको बाँध र निरन्तर कटानमा केन्द्रित छ। समुदाय स्तरीय विपद् व्यवस्थापन समिति सकरपुराका अध्यक्ष केशरी सिंहका अनुसार बाँधको कमजोर संरचनाका कारण पुनः ठूलो क्षतिको जोखिम कायमै छ।
स्थानीयले बाढीलाई प्राकृतिक विपत्ति मात्र नभई हरेक वर्ष दोहोरिने सामाजिक–आर्थिक संकटका रूपमा चित्रण गर्दै दीर्घकालीन नदी व्यवस्थापन, बलियो पूर्वाधार र प्रभावकारी पूर्वतयारीमा तत्काल लगानी आवश्यक रहेको बताएका छन्।

















