१३ असार,काठमाडौं । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको शनिबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उपमहासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज अधिकारी (गणेश) पौडेलको उपस्थितिमा धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरिएको हो।
शिलान्यास कार्यक्रममा भुटानी लामा गुरुहरूले भूमि पूजनसहित विशेष धार्मिक अनुष्ठान गरेका थिए। भुटान सरकारले गुम्बा निर्माणलाई नेपाल–भुटानबीचको धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने ऐतिहासिक परियोजनाका रूपमा लिएको जनाएको छ।
भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु आफ्नो देशका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनका अनुसार परियोजनाको पहिलो चरणमा सीमा पर्खाल निर्माण सम्पन्न भइसकेको छ भने अब मुख्य मन्दिर निर्माण सुरु गरिएको छ। आगामी दुई वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रस्तावित गुम्बामा भुटानी मौलिक वास्तुकला, धार्मिक कला, प्रार्थना कक्ष तथा सांस्कृतिक प्रदर्शनी क्षेत्र निर्माण गरिनेछ। यसले लुम्बिनी आउने अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रीलाई भुटानी संस्कृति र आध्यात्मिक परम्परासँग परिचित गराउने अपेक्षा गरिएको छ।
यसैबीच, शिलान्यास समारोहसँगै नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच द्विपक्षीय वार्ता पनि सम्पन्न भएको छ। वार्तामा पर्यटन सहकार्य, सांस्कृतिक आदान–प्रदान तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको थियो।
नेपालले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्न तथा पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किट विकास गर्न प्रस्ताव गरेको छ। साथै, नेपाली नागरिकले भुटान भ्रमण गर्दा तिर्नुपर्ने दिगो विकास शुल्क (एसडीएफ) मा सहुलियत वा छुट दिन पनि आग्रह गरेको छ।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालका प्रस्तावलाई सकारात्मक रूपमा लिइएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लुम्बिनीमा गुम्बा निर्माणका लागि नेपाल सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै धार्मिक सम्पदा संरक्षण र बौद्ध पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

















