Logo

१३ असार,काठमाडौं । नेपाल र भारतलाई एउटै कम्पनीले एउटै स्रोतबाट आपूर्ति गर्ने रासायनिक मलको मूल्यमा ठूलो अन्तर देखिएपछि कृषि सामग्री कम्पनी लिमिटेडभित्रै प्रश्न उठ्न थालेको छ।

सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय कम्पनी एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङले नेपाल र भारत दुवै देशलाई रासायनिक मल आपूर्ति गर्ने ठेक्का पाएको छ। तर, भारतलाई प्रतिमेट्रिक टन ५४० अमेरिकी डलरमा उपलब्ध गराइएको मल नेपाललाई भने ९००.७५ अमेरिकी डलरमा बिक्री गरिने भएको छ।

कृषि सामग्री कम्पनीका एक कर्मचारीका अनुसार एउटै कम्पनी, एउटै स्रोत र समान प्रकारको मल भए पनि नेपालले झण्डै ३६० डलर बढी तिर्नुपरेको छ। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घटिरहेको अवस्थामा पनि नेपालले उच्च मूल्यमा खरिद गर्नुपरेको विषयले आशंका पैदा गरेको छ।

ती कर्मचारीले पश्चिम एसियाको द्वन्द्वलाई कारण देखाउँदै पटक–पटक टेन्डर प्रक्रिया प्रभावित पारिएको र अन्ततः उच्च मूल्यमा ठेक्का स्वीकृत गरिएको दाबी गरे। उनका अनुसार यस विषयमा निष्पक्ष छानबिन आवश्यक छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले गत मार्चदेखि नियन्त्रणमा राखेको युरिया निर्यात खुला गर्ने निर्णय गरेपछि विश्व बजारमा रासायनिक मलको मूल्य उल्लेख्य रूपमा घट्न थालेको छ। साथै पश्चिम एसियाको तनाव पनि कम हुँदै गएपछि मूल्य थप घट्ने अपेक्षा गरिएको छ।

यहीबीच आदित्य बिर्लाले नेपालका वीरगञ्ज, विराटनगर र भैरहवासम्म ३० हजार मेट्रिक टन मल आपूर्ति गर्ने ठेक्का पाएको छ। प्रतिमेट्रिक टन ९००.७५ अमेरिकी डलरका दरले भएको सम्झौताअनुसार कम्पनीले नेपाल सरकारबाट कुल दुई करोड ७० लाख २२ हजार ५०० अमेरिकी डलर प्राप्त गर्नेछ।

यसैगरी, नेपाल–भारत सरकारबीचको (जीटुजी) सम्झौताअनुसार भारतले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ। भारतले उक्त मल प्रतिमेट्रिक टन ८४८ अमेरिकी डलरमा नेपाललाई उपलब्ध गराउने सहमति भएको छ, जबकि भारतले सोही मल ५४० अमेरिकी डलरमा खरिद गरेको बताइएको छ।

नेपालले तत्काल ८० हजार मेट्रिक टन मल माग गरे पनि पहिलो चरणमा ५० हजार मेट्रिक टन मात्र प्राप्त गर्नेछ। त्यसका लागि आवश्यक रकम भारतलाई पठाइसकिएको भए पनि सम्झौताअनुसार भुक्तानी भएको मितिबाट १२० दिनभित्र मात्र मल आपूर्ति हुने व्यवस्था छ। यसले धान रोपाइँको मुख्य सिजनमा किसानले मल नपाउने सम्भावना रहेको छ।


सम्बन्धित समाचार