१३ असार,वीरगञ्ज । धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापा चौकस्थित थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको टोलीले आज दिउँसो करिब १ बजे होटलमा खाना खान आएका दुवै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार उनीहरूको साथबाट एउटा पेस्तोल, एक थान म्यागजिन, ९ एमएम केएफ लेखिएको एक थान गोली र ७.६५ एमएम केएफ लेखिएका तीन थान गोली बरामद गरिएको छ।
बरामद हातहतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















