१३ असार,काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा १५ दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले असार २२ गतेदेखि साउन ४ गतेसम्म उक्त सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो।
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार यस अवधिमा टिपर र ठूला मालवाहक ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गरिनेछ। यात्रुवाहक तथा अन्य सवारीसाधनलाई भने बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सडक प्रयोग गर्न नदिने निर्णय गरिएको छ।
सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन रातिको समयमा सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ। अधिकारीका अनुसार एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् रूपमा सञ्चालन गर्न पाइनेछ।
यस्तै, सवारी व्यवस्थापन तथा चालकलाई सहजीकरणका लागि काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिनेछ।
गत चैत महिनामा पनि उक्त सडकखण्डमा करिब एक महिनासम्म रातिको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरिएको थियो। यसपटक यात्रु तथा मालवाहक सवारीलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

















