Logo

४ असार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको रहस्यमयी हत्या भएको यतिका वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नु आफैँभित्रको ठूलो कमजोरी भएको स्वीकार गर्नुभएको छ ।

राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खनालले उक्त आत्मसमीक्षा गर्नुभएको हो । ऐतिहासिक दासढुङ्गा दुर्घटना र तत्कालीन शीर्ष नेताहरूको अवसानलाई स्मरण गर्दै उहाँले कम्युनिस्ट आन्दोलनकै नेतृत्व तहमा रहेकाहरूले यस घटनाको सत्यतथ्य बाहिर ल्याउन नसक्नु आत्मग्लानिको विषय भएको धारणा राख्नुभयो ।

सम्बोधनका क्रममा नेता खनालले मदन भण्डारीको चर्चा गर्दा जीवराज आश्रितको योगदान र उहाँको व्यक्तित्वलाई कहिल्यै छुटाउन नमिल्ने उल्लेख गर्नुभयो । अत्यन्तै रहस्यमयी ढंगले घटाइएको उक्त घटनाका वास्तविक दोषी र योजनाकार को थिए भन्ने कुरा अहिलेसम्म अनुत्तरित रहनुले मुलुकको राजनीतिक अनुसन्धान प्रणाली र कम्युनिस्ट पार्टीहरूकै कार्यक्षमतामाथि प्रश्न उठेको उहाँको भनाइ थियो ।

खनालले भन्नुभयो, ‘त्यतिबेला देशलाई ठूलो क्षति पुर्‍याउने गरी भएको त्यो बीभत्स हत्याकाण्डका दोषीहरूलाई कानुनको कठघरामा उभ्याउन नसक्नु हामी शासक र नेताहरूकै कमजोरी हो, जसलाई आज हामीले सहजै स्वीकार गर्नैपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले जननेता भण्डारीमाथि भएको त्यो घातक षड्यन्त्र व्यक्तिगत रिसइबी नभई नेपालको उदाउँदो र शक्तिशाली कम्युनिस्ट आन्दोलनलाई समूल नष्ट गर्ने प्रपञ्च भएको दाबी गर्नुभयो । उहाँले विचार गोष्ठीमा बोल्दै देशभित्र र बाहिरका कम्युनिस्ट विरोधी शक्तिहरूबाट अझै पनि सिंगो कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने र कमजोर बनाउने अनेकौँ खेलहरू जारी रहेको औंल्याउनुभयो ।

यस्ता वैचारिक र राजनीतिक चुनौतीहरूको सामना गर्न मार्क्सवाद र लेनिनवादको सिद्धान्तलाई नेपाली क्रान्तिको मौलिक विशेषता एवं विशिष्टताका आधारमा लागू गर्दै अघि बढ्न आफूहरू निरन्तर क्रियाशील रहेको उहाँले स्पष्ट पार्नुभयो ।


सम्बन्धित समाचार