१६ असार, काठमाडौं । अमेरिकाले इरानसँग गर्ने भनेको पछिल्लो वार्ताको दावी खारेज भएको छ ।
इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरानसँग वार्ता हुने भनी गरेको दाबी खारेज गरेको हो । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि गरेको दाबी खारेज गरेका बताए । बीबीसीका अनुसार प्रवक्ता इस्माइलले इरान अमेरिकासँग कुनै पनि स्तरमा वार्ता नगर्ने बताएका छन् ।
अमेरिकी प्रतिनिधिहरूको कतार यात्रासँग इरानी प्रतिनिधि मण्डलको यात्राको कुनै सम्बन्ध नरहेको पनि प्रवक्ता इस्माइलले जिकिर गरेका छन् ।
इरानका उपविदेशमन्त्री र प्राविधिक वार्ता टोलीका प्रमुख काजेम गरिबाबादीले पनि यो साता वार्ताको केही योजना नरहेको बताएका छन् । यसअघि ट्रम्पले इरानको आग्रहमा मंगलबार अमेरिका र इरानी प्रतिनिधिहरू बीच दोहामा छलफल हुने दाबी गरेका थिए ।
व्हाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेविटले छलफलमा ट्रम्पका प्रतिनिधि स्टीभ विटकफ र जेरेड कुशनर सहभागी हुने समेत बताएकी थिइन् ।

















