Logo

१६, असार काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरेको विशेष बजार अनुगमनका क्रममा बजारमा उपलब्ध आँपहरूमा प्रतिबन्धित रासायनिक पदार्थ क्याल्सियम कार्बाइड प्रयोग नभएको स्पष्ट पारेको छ ।

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विभागले सिरहाको लहान, सर्लाहीको नवलपुर र लालबन्दी, तथा रौतहटको चन्द्रपुर र गौरका थोक एवं खुद्रा फलफूल बजार र गोदामहरूमा स्थलगत निरीक्षण गरेको थियो ।

सो क्रममा व्यवसायीहरूले आँप पकाउनका लागि कुनै पनि गैरकानुनी रसायन प्रयोग नगरेको पाइएको हो । अनुगमन टोलीले फलफूल मात्र नभई तरकारीको समेत गुणस्तर जाँच गरेको छ ।

असार ३ गते सर्लाहीका स्थानीय बजारहरूबाट संकलन गरिएका तरकारी तथा फलफूलका नमुनाहरूको द्रुत विषादी अवशेष परीक्षण (आरबीपीआर) गर्दा सबै नमुनाहरू सुरक्षित र मापदण्डअनुकूल भेटिएका छन् ।

यसले बजारमा उपलब्ध मौसमी फलफूल र तरकारीहरू उपभोक्ताका लागि उपभोगयोग्य रहेको पुष्टि गर्छ । बजारको स्वच्छतालाई कायम राख्न विभागले व्यवसायीहरूका लागि कडा निर्देशन समेत जारी गरेको छ ।

व्यवसायीहरूलाई आयातित फलफूल खरिद–बिक्री गर्दा अनिवार्य रूपमा लेबल वा स्टिकर भएको मात्र रोज्न र फलफूल पकाउनुपर्दा सरकारद्वारा स्वीकृत रिपेनिङ एजेन्ट मात्र प्रयोग गर्न भनिएको छ ।

साथै, त्यस्ता स्वीकृत एजेन्टहरू प्रयोग गर्दा पनि रसायन फलफूलसँग प्रत्यक्ष सम्पर्कमा नआउने गरी सुरक्षित तरिकाले प्रयोग गर्न र समग्र खाद्य स्वच्छतामा ध्यान दिन सचेत गराइएको छ ।

 


सम्बन्धित समाचार
भर्खरै