१६ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यको सूचीमा संशोधन गरेको छ ।
यसअघि विजयी घोषित दुई उम्मेदवार केन्द्रीय समितिबाट बाहिरिएका छन् भने दुई जना नयाँलाई निर्वाचित भएको घोषणा गरिएको छ ।
रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी पूजा बास्तोलाले मतपरिणाममा गडबडी गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिँदै आफूलाई पन्छाएर कम मत ल्याउनेलाई विजयी घोषणा गरिएको उनले दाबी गरेकी छिन् ।
आयोगले बास्तोलाको दाबीलाई सदर गरेको छ ।नतिजा घोषणामा प्राविधिक त्रुटि भएको स्वीकार्दै प्रादेशिक केन्द्रीय सदस्यमा गण्डकीबाट बास्तोलालाई विजयी बनाइएको हो । यसअघि सो क्षेत्रबाट विजयी घोषित सोम शर्मालाई केन्द्रीय समितबाट हटाइएको छ ।
उनी बाग्लुङ २ बाट निर्वाचित सांसद हुन् ।यस्तै जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठलाई निर्वाचित घोषित गरिएकोमा उनी पनि बाहिरिएका छन् । उनको ठाउँमा ध्रुव थापामगरलाई निर्वाचित घोषणा गरिएको छ ।
उम्मेदवारी दर्ता गर्दा पेश गरिएको कागजपत्र अध्ययन गर्दा ध्रुव निर्वाचित भएको देखिएको आयोगले जनाएको छ ।

















