१७ असार, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्मा सांसदहरूले उठाएका जनसरोकारका मुद्दा र प्रश्नहरूलाई सरकारले बेवास्ता गर्न नमिल्ने भन्दै कडा निर्देशन (रुलिङ) जारी गर्नुभएको छ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले सङ्घीय सरकारका सबै मन्त्रीहरूलाई बैठकमा उपस्थित भई सांसदहरूका जिज्ञासाको जवाफ दिन स्पष्ट निर्देशन दिनुभएको हो।
बैठकमा बोल्दै उहाँले आकस्मिक समय, शून्य समय, विशेष समय तथा प्रादेशिक सरोकारका समयमा माननीय सदस्यहरूले उठाएका राष्ट्रिय तथा क्षेत्रीय महत्त्वका विषयहरूलाई गम्भीरतापूर्वक लिन र तिनको जवाफ सभासमक्ष पेस गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
यसअघि, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदहरूले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि र आपत्ति जनाएका थिए।
संसद्को शून्य समय र विशेष समयमा सांसदहरूले जनताका दैनिक समस्या, विकास निर्माण र समसामयिक विकृतिबारे निरन्तर प्रश्न उठाइरहँदा पनि सरकार र सम्बद्ध मन्त्रीहरूले त्यसलाई बेवास्ता गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए।
सांसदहरूको यही साझा असन्तुष्टि र दबाबपछि राष्ट्रियसभाको गरिमा कायम राख्न र सरकारलाई संसद्प्रति जबाफदेही बनाउन अध्यक्ष दाहालले यो कदम चाल्नुभएको हो।



















