१८ असार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र देखिएका नीतिगत तथा सङ्गठनात्मक कमीकमजोरीहरूलाई निर्मम ढङ्गले सच्याएर अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् ।
पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले प्रादेशिक संरचनादेखि वडा तहसम्मै सङ्गठन विस्तार गरी आगामी महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्याउने दाबी गरे ।
“यो पटक हामीले राजनीतिक इतिहासमै एउटा असाधारण र चुनौतीपूर्ण परिघटनाको सामना गर्नुपरेको पक्कै हो, तर हामी ध्वस्त भइसकेका छैनौँ,” प्रशिक्षणका क्रममा प्रचण्डले भने, “कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिन सबैभन्दा पहिला आफ्नै कमजोरी सुधार्ने विषयलाई हामीले उच्च प्राथमिकतामा राख्नुपर्छ । विगतमा जस्तै राष्ट्रिय स्वाधीनता र वर्गीय हितका निम्ति जस्तोसुकै त्याग गर्ने सङ्कल्प लिएर ब्युँतने हो भने पार्टीलाई नयाँ उचाइमा लैजान असम्भव छैन।”
आगामी महाधिवेशन सामान्य सांगठनिक प्रक्रिया र नेतृत्व चयनमा मात्र केन्द्रित नहुने प्रस्ट पार्दै उनले विचार, सिद्धान्त र सङ्गठनको हिसाबले गुणात्मक क्रमभङ्ग गर्ने उद्घोष गरे । उनले अबको रणनीति र कार्यनीति विचारको नयाँ जगमा उभिने उल्लेख गर्दै अर्को क्रान्तिको सुरुआत गरेर मात्र आफ्नो अभियानले विश्राम लिने दाबी गरे ।
कार्यक्रममा बोल्दै पार्टीका सहसंयोजक माधवकुमार नेपालले भने अहिलेकै अवस्थामा देशका अन्य कम्युनिस्ट पार्टीहरूका बीचमा सांगठनिक एकता सम्भव नरहेको स्पष्ट पारेका छन् । तत्काल सांगठनिक एकताको सम्भावना नभए पनि राष्ट्रियता र जनजीविकामाथि सङ्कट आउने अवस्था देखिएकाले विभिन्न वामपन्थी दलहरूबीच तात्कालिक मुद्दाहरूमा सहकार्य भने हुन सक्ने उनले उल्लेख गरे ।
कार्यकर्ताहरूलाई जगैदेखि सङ्गठन निर्माणमा लाग्न निर्देशन दिँदै सहसंयोजक नेपालले भने, “पहिला आफ्नो पार्टीलाई जगैदेखि बलियो र ठुलो बनाउन लाग्नुहोस् । हाम्रो आफ्नै शक्ति र पार्टी ठुलो भयो भने मात्र भोलि एकताको आधार वा आशा जाग्छ । तर, तत्कालै अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता भइहाल्छ भन्ने भ्रममा कोही नरहे हुन्छ।”
गण्डकी प्रदेशको विशेष राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे, देवेन्द्र पौडेल, श्रीनाथ बराल, ज्ञानु आचार्य, शिव बास्तोला, कृष्ण नेपाली, गायत्री गुरुङलगायतले आ-आफ्नो धारणा राख्दै पार्टीको आगामी वैचारिक कार्यदिशा र सङ्गठन सुदृढीकरण अभियानबारे प्रकाश पारेका थिए । नेताहरूले बदलिँदो राजनीतिक परिवेशमा पार्टीको आन्तरिक एकता र शुद्धीकरण नै आगामी यात्राको मुख्य आधार हुनेमा जोड दिए ।



















