१८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको रिहाइको मागसहित दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिटमाथि बहस गर्न सर्वोच्चले न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलास तोकेको छ । कानून व्यवसायी तथा सरोकारवालाहरूले यस सुनुवाइलाई निकै चासोका साथ हेरेका छन् ।
यसअघि, मङ्गलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले उक्त प्रकरणसँग जोडिएका महत्त्वपूर्ण कागजातहरू मगाउने आदेश दिएको थियो । सो इजलासले व्यापारी दीपक भट्ट र सुलभ अग्रवाललगायतका व्यक्तिहरूविरुद्ध चलिरहेका सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र र बीमासम्बन्धी कसुरका फाइलहरू अदालतमा पेस गर्न भनेको थियो ।
स्मरण रहोस्, यसअघि असार ११ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यस प्रकरणमा विपक्षीका नाममा ुकारण देखाउु आदेश जारी गर्दै मुद्दालाई अगाडि बढाएको थियो ।
हिरासतमा रहेका पौडेलको मुद्दामा आजको इजलासले कस्तो आदेश दिन्छ, त्यसले उनको आगामी अवस्थाबारे केही स्पष्ट संकेत गर्ने अपेक्षा गरिएको छ ।



















