१८ असार, चितवन । सार्वजनिक विश्वासको आधारमा सञ्चालन हुने बैंकहरूलाई सेवाग्राहीले आफ्नो सम्पत्ति र महत्वपूर्ण कागजात सुरक्षित रहने अपेक्षा गर्छन्। तर भरतपुरको मालपोत कार्यालयको हाताभित्र रहेको एनएमबी बैंक लिमिटेडसँग जोडिएको एउटा घटनाले भने बैंकिङ प्रणालीप्रतिको त्यही विश्वासमाथि प्रश्न उठाएको छ।
एक सेवाग्राहीले कानुनी प्रक्रियाका लागि बैंकलाई बुझाएको दाबी गरेको सक्कल चेक नै हराएको आरोप लगाएपछि बैंकको अभिलेख व्यवस्थापन र आन्तरिक जवाफदेहितामाथि गम्भीर बहस सुरु भएको छ।
भरतपुर महानगरपालिका–९ गौरीगञ्जका ललित एरी वैदेशिक रोजगारीको सपना बोकेर साइप्रस जान खोजेका थिए। उनका अनुसार रत्ननगरका मनिष बिकले साइप्रस पठाइदिने आश्वासन दिएर उनीबाट १ लाख १० हजार रुपैयाँ लिए। तर लामो समयसम्म विदेश नपठाएपछि रकम फिर्ता माग्दा मनिषले आफ्नो एनएमबी बैंक लिमिटेड, बबरमहल शाखाको खाताबाट सोही रकम बराबरको चेक काटेर ललितकी माइजु संगीता श्रेष्ठको नाममा दिए।
तर त्यो चेक तीन–तीन पटक बैंकमा प्रस्तुत गर्दा पनि रकम भुक्तानी भएन। मुक्तिनाथ विकास बैंक लिमिटेड, हाकिमचोक शाखामार्फत चेक प्रस्तुत गरिए पनि प्रत्येक पटक चेक बाउन्स भयो। त्यसपछि चेक जारीकर्ताविरुद्ध बैंकिङ कसुर तथा कालोसूची प्रक्रियामा जाने उद्देश्यले ललित एनएमबी बैंकको मालपोत शाखामा पुगे।
ललितको दाबीअनुसार त्यहाँका कर्मचारीले कालोसूची प्रक्रिया अगाडि बढाउन सक्कल चेकसहित आवश्यक कागजात काठमाडौंस्थित बबरमहल शाखामा पठाउनुपर्ने भन्दै ती सबै कागजात बुझे। तर करिब दुई महिनापछि प्रक्रियाको अवस्था बुझ्न जाँदा आफूले बुझाएको सक्कल चेक नै फेला नपरेको जानकारी पाएको उनी बताउँछन्।
यसपछि बैंककै सुझावमा उनले फेरि मुक्तिनाथ विकास बैंकबाट चेक बाउन्ससम्बन्धी प्रतिलिपि लिएर एनएमबी बैंक पुगे। त्यसक्रममा मालपोत शाखाले बबरमहल शाखासँग सम्पर्क गर्दा कागजात कुरियरमार्फत त्यहाँ पुगेको जानकारी दिएको उनको भनाइ छ। यही आश्वासनका आधारमा उनलाई थप केही समय पर्खन भनियो। तर अन्ततः बैंकले सक्कल चेक फेला पार्न नसकेको जानकारी दिएको पीडितको आरोप छ।
घटनाको सबैभन्दा संवेदनशील पक्ष, पीडितका अनुसार, बैंकले चेक कसले बुझ्यो, कुन मितिमा पठाइयो, कुन कुरियरमार्फत पठाइयो, त्यसको ट्र्याकिङ नम्बर, इमेल अभिलेख वा रिसिभ रेकर्ड तत्काल देखाउन नसक्नु हो। करोडौं रुपैयाँ खर्च गरेर डिजिटल प्रणाली सञ्चालन गर्ने वाणिज्य बैंकमा यति महत्वपूर्ण कानुनी प्रमाणको स्पष्ट अभिलेख प्रस्तुत गर्न नसक्नुले बैंकको अभिलेख व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको उनी बताउँछन्।
यदि चेक हराएको थाहा पाएलगत्तै बैंकले सिसिटिभी फुटेज हेरेको भए सत्य बाहिर आउँथ्यो। तर समय बिताइयो। अहिले फुटेज पनि छैन। विदेश जाने सपना त पहिल्यै टुट्यो, अब पैसा फिर्ता गराउने कानुनी आधार पनि हराएको छ, पीडित एरीको गुनासो छ।
उनले कर्मचारीको लापरबाही वा अन्य कारणबाट चेक हराएको हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। उता रकम लिएको आरोप लागेका मनिष बिक भने हालसम्म सम्पर्कविहीन रहेको एरीले बताए ।
यस विषयमा एनएमबी बैंक लिमिटेड, मालपोत शाखाका शाखा प्रबन्धक सुनिल लामिछानेले प्रारम्भिक रूपमा सामान्य अवस्थामा बैंकले सक्कल चेक आफ्नो जिम्मामा राख्ने अभ्यास नहुने बताए। सम्भवतः चेक सेवाग्राहीलाई नै फिर्ता गरिएको हुन सक्ने उनको भनाइ छ। यद्यपि प्रक्रियागत त्रुटि भएको हो कि भनेर खोजी गर्दा पनि चेक फेला नपरेको र बबरमहल शाखामा पठाइएका कागजातसम्बन्धी केही अभिलेख शाखासँग रहेको उनले बताएका थिए।
तर ती अभिलेखको सत्यता पुष्टि गर्न तथा बैंकको आधिकारिक धारणा लिन सञ्चारकर्मी शाखा कार्यालय पुगेका बेला भने शाखा प्रबन्धकले भेट गर्न अस्वीकार गरे। सुरक्षाकर्मीमार्फत जानकारी गराइए पनि सञ्चारकर्मीलाई बैंकभित्र प्रवेश गर्न दिइएन। यसअघि अभिलेख रहेको जानकारी दिए पनि प्रमाण देखाउन अस्वीकार गरिनुले बैंकको पारदर्शिता र उत्तरदायित्वमाथि थप प्रश्न खडा भएको छ।
एनएमबी बैंकको केन्द्रीय कार्यालयका ब्रान्ड एन्ड मार्केटिङ हेड विष्णु पौडेलले पनि सामान्य अवस्थामा बैंकले सक्कल चेक स्थायी रूपमा आफ्नो जिम्मामा नराख्ने बताए। उनका अनुसार चेक बाउन्स भएपछि आवश्यक प्रक्रिया पूरा गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा जाने व्यवस्था हुन्छ।
बैंकिङ कसुरसम्बन्धी कानुनी व्यवस्थाअनुसार चेक बाउन्स भएको अवस्थामा सक्कल चेक नै सबैभन्दा महत्वपूर्ण प्रमाण मानिन्छ। यही प्रमाणका आधारमा कानुनी सूचना, प्रहरी उजुरी र नेपाल राष्ट्र बैंकमार्फत कालोसूची प्रक्रिया अघि बढाइन्छ।
यही कारण अहिले उठेको प्रश्न केवल एक व्यक्तिको चेक हराएको मात्र होइन। प्रश्न यो पनि हो—यदि आधुनिक प्रविधि, डिजिटल अभिलेख, कुरियर ट्र्याकिङ र सिसिटिभी प्रणाली प्रयोग गर्ने बैंकमै सेवाग्राहीले बुझाएको महत्वपूर्ण कागजात सुरक्षित रहँदैन भने सर्वसाधारणले बैंकमा आफ्नो कानुनी प्रमाण कत्तिको सुरक्षित ठान्ने ?
यस घटनाले चितवनको मालपोत चोकस्थित एनएमबी बैंकको सेवा, अभिलेख व्यवस्थापन र ग्राहकप्रतिको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ। घटनाको निष्पक्ष छानबिन, वास्तविकता सार्वजनिक गर्न र यदि कुनै कर्मचारी वा पक्षबाट लापरबाही भएको पुष्टि भए कानुनबमोजिम जिम्मेवार ठहर गर्न सम्बन्धित नियामक निकायको ध्यान जानुपर्ने देखिन्छ।



















