१८ असार, काठमाडौं । सन् २०२६ को जुन महिना नेपालको पर्यटन क्षेत्रका लागि निकै सुखद बनेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार यस महिना कुल ९१ हजार ३६३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो आगमन १९.५ प्रतिशतले बढी हो, जहाँ ७६ हजार ४२५ पर्यटक भित्रिएका थिए । अझ रोचक पक्ष त के छ भने, कोभिड(१९ अघिको सबैभन्दा उच्च पर्यटक आगमन भएको वर्ष सन् २०१९ को जुन महिना (७४,८८३ आगमन) सँग तुलना गर्दा पनि यस वर्ष २२.०१ प्रतिशतले वृद्धि देखिएको छ, जसले नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा लयमा फर्केको संकेत गर्छ ।
यसपटक नेपाल आउने पर्यटकमा दक्षिण एसियाली मुलुकहरूको वर्चस्व देखिएको छ । कुल आगमनको ५२।८ प्रतिशत हिस्सा ओगट्दै ४८ हजार २५४ जना पर्यटक सार्क राष्ट्रबाट भित्रिएका छन्, जसमा भारतबाट मात्रै ४१ हजार ८०९ जना रहेका छन् ।
त्यस्तै, चीन (९,९९५०, अमेरिका (११,८३६) र अष्ट्रेलिया (२,८९६) का नागरिकको आगमनले नेपाल विश्वभरि नै एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको पुष्टि हुन्छ । विशेषगरी ओसियानिया क्षेत्रबाट भएको ५६.३५ प्रतिशतको वृद्धिले नेपालको पर्यटन बजार थप फराकिलो बन्दै गएको देखिन्छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार हवाई सम्पर्कको विस्तार, प्रभावकारी प्रवद्र्धनात्मक अभियान र सुरक्षित गन्तव्यको रूपमा बनेको नेपालको सकारात्मक छवि नै यो वृद्धिको मुख्य आधार हो ।
बोर्डले अब आगामी पर्यटकीय सिजनलाई केन्द्रित गर्दै प्रमुख स्रोत बजारहरूमा थप आक्रामक बजारीकरण गर्ने तयारी गरेको छ, जसले नेपालको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।


















