Logo

१८ असार, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटिसक्दा पनि सार्वजनिक यातायात र हवाई उडानको भाडा नघटेको भन्दै संसद्मा सरकारको ध्यानाकर्षण गराइएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले इन्धनको मूल्य समायोजनसँगै भाडादर पनि तत्काल पुनरावलोकन गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।

सांसद रोकायाले मूल्य बढ्दा जनताले महँगीको मार खेप्नुपर्ने तर मूल्य घट्दा त्यसको लाभ नपाउने अवस्थालाई ‘अन्यायपूर्ण’ भन्दै यस किसिमको बेथिति तत्काल अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, मूल्य घट्नेबित्तिकै बजारमा देखिने कृत्रिम अभावलाई सांसद रोकायाले गम्भीर विषयका रूपमा उठाउनुभयो । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको केही घण्टाभित्रै विभिन्न स्थानका पेट्रोल पम्पहरूले ‘तेल सकियो’ भन्दै बिक्री बन्द गरेको घटनाप्रति आपत्ति जनाउँदै उहाँले त्यस्ता पम्प सञ्चालकहरूमाथि कडा छानबिन गरी कारबाही गर्न सरकारलाई चेतावनी दिनुभयो । जनतालाई राहत दिनुको साटो कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने उहाँको माग थियो ।


सम्बन्धित समाचार