१८ असार, काठमाडौं । नेपालको सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित र समयसापेक्ष बनाउने उद्देश्यसहित ल्याइएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न तयार पारिएको यस विधेयकमाथि सदनमा दफावार छलफल भएको थियो ।
छलफलका क्रममा सांसदहरू आशिष गजुरेल, वासना थापा, ऐनबहादुर महर र अरविन्द शाहले भाग लिँदै विधेयकका विभिन्न प्रावधानबारे आफ्ना धारणा राख्नुभएको थियो । सांसदहरूको सुझाव र दफावार छलफल पश्चात सदनले यसलाई पारित गरेको हो ।
सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएसँगै अब यो कानुन निर्माण प्रक्रियामा अर्को चरणमा प्रवेश गरेको छ । यस संशोधनले मुलुकको विकास निर्माण र सार्वजनिक खरिद कार्यलाई थप पारदर्शी तथा प्रभावकारी बनाउने विश्वास लिइएको छ ।


















