१८ असार, वीरगञ्ज । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते देशभर हिलो खेल्दै धान रोपाइँ महोत्सव मनाइयो। तर पर्सामा भने उत्सव सकिए पनि खेतहरू अझै सुक्खै छन्।
किसानहरू रोपाइँ गर्न नभई आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा छन्। पर्याप्त वर्षा नहुनु, गण्डक सिंचाइ प्रणालीको शाखा नहरमा समयमै पानी नपुग्नु र वैकल्पिक सिंचाइको अभावका कारण असार १८ गतेसम्म जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये केवल १६ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र पर्साका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब ४५ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ। तर यस वर्ष मनसुन कमजोर रहेकाले अधिकांश खेतमा अझै पानी जम्न सकेको छैन। ब्याडमा धानका बिरुवा तयार भइसके पनि खेतमा सार्ने अवस्था नहुँदा किसानहरू चिन्तित बनेका छन्।
धान दिवसका अवसरमा विभिन्न पालिकाले रोपाइँ महोत्सव र औपचारिक कार्यक्रम आयोजना गरे पनि त्यसपछि किसानले भोगिरहेको सिंचाइ संकट समाधानतर्फ स्थानीय सरकारको प्रभावकारी पहल नदेखिएको किसानहरूको गुनासो छ। उनीहरूका अनुसार औपचारिक कार्यक्रमभन्दा खेतीका लागि आवश्यक पानी र कृषि पूर्वाधारको व्यवस्थापन अहिलेको मुख्य आवश्यकता हो।

पोखरिया नगरपालिका निवासी किसान अजय साहले जेठको दोस्रो सातामै पम्पसेट प्रयोग गरेर धानको ब्याड तयार पारेका थिए। अहिले बिरुवा रोप्न तयार भए पनि खेतमा पानी नहुँदा रोपाइँ सुरु गर्न नसकेको उनले बताए।
“बिरुवा त तयार छ, तर खेत सुक्खा छ। असारको आधा महिना बितिसक्दा पनि पानी नपर्दा दिनभर आकाशतिर हेरेर बस्नुपरेको छ। रोपाइँ गर्ने उपयुक्त समय बित्दै जाँदा उत्पादन नै घट्ने चिन्ता बढेको छ,” उनले भने।
अजय साहजस्तै पर्साका अधिकांश किसान अहिले यही समस्याबाट गुज्रिरहेका छन्। कतिपयले पम्पसेट प्रयोग गरेर ब्याड तयार गरे पनि ठूलो क्षेत्रफलमा सिंचाइ गर्न आवश्यक पानी उपलब्ध गराउन नसक्दा खेती जोखिममा परेको छ। इन्धनको बढ्दो मूल्यका कारण पम्पसेटमार्फत सबै खेतमा पानी पुर्याउन अधिकांश किसान सक्षम छैनन्।
किसानहरूका अनुसार गण्डकको मुख्य नहरमा पानी आए पनि शाखा तथा उपशाखा नहरसम्म पर्याप्त पानी नपुग्दा खेतमा सिंचाइ हुन सकेको छैन। हजारौं बिघा खेतीयोग्य जमिन अझै रोपाइँविहीन रहेको उनीहरूको भनाइ छ। उनीहरूले तत्काल शाखा नहरमा पानी उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले धानको बिरुवा करिब २५ दिनभित्र रोप्न उपयुक्त हुने बताए। उनका अनुसार रोपाइँ ढिलो हुँदा बिरुवा छिप्पिने, गाज (टिलर) कम लाग्ने र अन्ततः उत्पादनमा प्रत्यक्ष असर पर्ने हुन्छ।
“बिरुवा तयार भएर पनि खेतमा पानी नहुँदा रोपाइँ रोकिएको छ। यदि केही दिनभित्र पर्याप्त वर्षा भएन वा सिंचाइको व्यवस्था हुन सकेन भने यस वर्ष धान उत्पादनमा उल्लेखनीय गिरावट आउन सक्छ,” थापाले चेतावनी दिए।
उनका अनुसार समयमै रोपिएको धानमा गाज राम्रो विकास हुने भएकाले उत्पादन पनि उच्च हुन्छ। तर ढिलो रोपिएको धानमा बोट कमजोर हुने, दाना कम लाग्ने र समग्र उत्पादन घट्ने सम्भावना बढी हुन्छ।
धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको उत्पादनमा हुने गिरावटले किसानको आम्दानी मात्र होइन, खाद्य सुरक्षामा समेत असर पार्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ। जलवायु परिवर्तनका कारण वर्षा अनियमित बन्दै जाँदा वर्षामा आधारित खेती प्रणाली थप जोखिममा परेको उनीहरूको निष्कर्ष छ।
मल, बीउ, मजदुरी र इन्धनको लागत निरन्तर बढिरहेका बेला समयमा रोपाइँ हुन नसक्दा किसान थप आर्थिक संकटमा परेको बताउँछन्। उनीहरूले स्थानीय तह, मधेश प्रदेश सरकार र संघीय सरकारसँग गण्डक सिंचाइ प्रणालीलाई प्रभावकारी बनाउँदै शाखा नहरमा तत्काल पानी पुर्याउने र आवश्यक परे वैकल्पिक सिंचाइ कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।
कृषि क्षेत्रका जानकारहरूका अनुसार अबका केही दिन निर्णायक हुनेछन्। यदि वर्षा भएन वा सिंचाइको व्यवस्था हुन सकेन भने पर्सामा यस वर्ष धान उत्पादन अपेक्षाभन्दा निकै कम हुन सक्ने खतरा बढेको छ।


















