Logo

१८ असार, वीरगञ्ज । मुलुकको औद्योगिक तथा व्यापारिक राजधानीका रूपमा चिनिने वीरगञ्जका उद्योगी–व्यवसायीले निजी क्षेत्रले लामो समयदेखि भोगिरहेका नीतिगत र संरचनागत समस्यालाई तत्काल समाधान गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई विस्तृत ध्यानाकर्षण पत्र बुझाएका छन्।

चितवनमा सम्पन्न पार्टीको महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा लामिछानेलाई बधाई तथा शुभकामना दिँदै संघले निजी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि राखेको उच्च अपेक्षा र हाल सामना गरिरहेका अवरोधहरूलाई विस्तृत रूपमा अवगत गराएको हो।

वीरगञ्ज उद्योग वाणिज्य संघले बुझाएको ९ बुँदे ध्यानाकर्षण पत्रमा उद्योग, व्यापार, भन्सार, बैंकिङ, पूर्वाधार, बीमा, पर्यटन तथा लगानीसँग सम्बन्धित सुधारका विषय समेटिएका छन्। संघले नेपालको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई सहज वातावरण आवश्यक रहेको उल्लेख गर्दै सरकारले तत्काल नीतिगत निर्णय गर्नुपर्नेमा जोड दिएको छ।

भेटका क्रममा सभापति लामिछानेसँगको छलफलमा संघले औद्योगिक तथा व्यापारिक वातावरण सहज बनाउन तत्काल आवश्यक रहेका कानुनी र नीतिगत सुधारका पक्षहरू प्रस्तुत गरेको छ। संघले नेपालमा व्यापारको मुख्य आधार रहेको उधारो प्रणालीलाई व्यवस्थित गर्न र उद्यमी(व्यापारीको पूँजीको सुरक्षा सुनिश्चित गर्न क्रेडिट ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएको छ।

संघले लामिछानेलाई बुझाएको पत्रमा व्यापारमा बढ्दो उधारो कारोबारलाई व्यवस्थित गर्न छुट्टै क्रेडिट ऐन आवश्यक रहेको उल्लेख गरिएको छ। लामो समयसम्म उधारो रकम नउठ्दा उद्योगी–व्यवसायी बैंकबाट थप ऋण लिन बाध्य हुने, ब्याजको भार बढ्ने र उद्योग सञ्चालन नै संकटमा पर्ने अवस्था आएको भन्दै उधारो कारोबारलाई कानुनी रूपमा व्यवस्थित गर्ने व्यवस्था गर्न आग्रह गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पालले बताए ।

व्रिष्ठ उपाध्यक्ष पालका अनुसार बारा–पर्सा औद्योगिक करिडोरमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने, सरकारले स्वामित्वमा राखेको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण गरी उद्योग विस्तारको वातावरण बनाउनुपर्ने माग पनि गरिएको छ।

दाल उद्योगसँग सम्बन्धित भन्सार नीति परिमार्जन, नेपाल–भारतबीच भन्सार तथा जीएसटीको दरमा रहेको असमानता हटाउने, सीमावर्ती क्षेत्रमा हुने अनौपचारिक व्यापार नियन्त्रण गर्ने तथा दैनिक उपभोग्य वस्तुको मूल्य अन्तर कम गर्नुपर्ने विषय पनि ध्यानाकर्षण पत्रमा समेटिएको छ।

व्यापार सहजीकरणका लागि भारतबाट स्थलमार्ग हुँदै आउने पर्यटक र सवारी साधनका लागि सिंगल–विन्डो क्लियरेन्स प्रणाली लागू गर्नुपर्ने, वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा अत्याधुनिक प्रयोगशाला, शीत भण्डारण, खानेपानी, शौचालय, प्राथमिक उपचार कक्ष, एम्बुलेन्स तथा सुरक्षा पूर्वाधार विस्तार गर्नुपर्ने मागसमेत संघले अघि सारेको छ।

यसैगरी नेपालमा गोल्ड–लिंक्ड ईटीएफ सञ्चालनको व्यवस्था गर्नुपर्ने, जसबाट नागरिकले भौतिक सुन खरिद नगरी सुरक्षित र पारदर्शी रूपमा लगानी गर्न सक्ने व्यवस्था मिल्ने उल्लेख गरिएको छ।

संघले सिमरा विमानस्थलको धावनमार्ग विस्तार, आधुनिक पूर्वाधार निर्माण र पर्यटकीय तथा व्यावसायिक केन्द्रका रूपमा यसको क्षमता विस्तार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। बीमा क्षेत्रमा पनि उद्योगको प्रकृतिअनुसार बीमा नीति ल्याई अनावश्यक प्रिमियमको भार कम गर्नुपर्ने माग गरिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रका समस्या अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय भएकाले त्यसलाई गम्भीर रूपमा लिएको बताए। उनले उद्योगी–व्यवसायीले उठाएका विषयहरू केवल एउटा क्षेत्रको माग नभई राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित सरोकार भएको उल्लेख गर्दै सरकारलाई उद्योगी–व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्न आफूले निरन्तर पहल गर्ने बताए।

लामिछानेले उत्पादन, लगानी र रोजगारी बढाउन निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उद्योगमैत्री वातावरण निर्माण भए मात्र आर्थिक गतिविधिले गति लिने धारणा व्यक्त गरेका थिए।

वीरगञ्ज उद्योग वाणिज्य संघले पनि देशको आर्थिक मेरुदण्डका रूपमा रहेको निजी क्षेत्र अहिले उच्च ब्याजदर, कमजोर लगानी वातावरण, भुक्तानी संकट, भन्सार नीतिको असन्तुलन तथा पूर्वाधार अभावका कारण गम्भीर समस्यामा परेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा हेरी तत्काल सुधारका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको छ।

उद्योगी–व्यवसायीका गुनासा सुनेपछि रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्र आर्थिक विकासको प्रमुख साझेदार भएको उल्लेख गर्दै उद्योग र व्यवसायको प्रवर्द्धनबिना मुलुकको आर्थिक समृद्धि सम्भव नहुने बताए।

उनले उद्योगी–व्यवसायीहरूले उठाएका जायज समस्या समाधानका लागि सरकार तथा आफ्नो पार्टी सकारात्मक रहेको बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

“देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण छ। उद्योगी–व्यवसायीका जायज समस्याहरू समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्न हामी प्रतिबद्ध छौँ,” लामिछानेले भने।

पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य बुद्धिप्रसाद पन्तको सहजीकरणमा भएको भेटवार्तामा वीरगञ्ज महानगरपालिकाका प्रथम मेयर विजयकुमार सरावगी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, पूर्व अध्यक्ष गणेश लाठ, उपाध्यक्ष मनोज दास, सचिव प्रेमचन्द गोयल, सहसचिव सुशान्त चाचान तथा सङ्घका अन्य पदाधिकारी र उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार