१८ असार, काठमाडौं । मधेश प्रदेश सरकारले प्रस्तुत गरेको बजेटलाई लिएर प्रदेशसभामा तनाव सिर्जना भएको छ ।
बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदनको कामकारबाहीमा निरन्तर अवरोध सिर्जना गरेपछि बिहीबारको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।
बैठकको सुरुमै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले टुक्रे योजनाहरू समेटेर ल्याएको बजेटले संघीयताको मर्ममाथि प्रहार गरेको आरोप लगाउँदै संशोधन नभएसम्म सदन चल्न नदिने चेतावनी दिनुभयो ।
त्यसैगरी, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेटमा देखिएका विसंगतिबारे छानबिन गर्न समिति गठन हुनुपर्ने वा बजेट नै संशोधन गर्नुपर्ने अडान राख्नुभयो ।
प्रतिपक्षी दलहरूको निरन्तरको अडान र विरोधका कारण सदनको कारबाही अगाडि बढाउन नसकेपछि सभामुख रामअशिष यादवले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको छ। बुधबारदेखि नै सुरु भएको यो विवादले प्रदेश सरकारलाई बजेट पारित गराउन निकै कठिन चुनौती खडा गरेको छ ।


















