१९ असार, काठमाडौँ । रुसले बिहीबार बिहानै युक्रेनको राजधानी किभमा सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहार गरी यस वर्षकै सबैभन्दा घातक हवाई आक्रमण गरेको छ । पाँचौँ वर्षमा प्रवेश गरेको यस युद्धमा किभभरि भएको यो विनाशको मापन र विस्तार अभूतपूर्व मानिएको छ । आक्रमणमा परी हालसम्म कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।
मध्यरातभरि भएका शृङ्खलाबद्ध शक्तिशाली विस्फोटका कारण किभ सहर थर्किएको थियो भने ज्यान जोगाउन हजारौँ बासिन्दा बम सेल्टर र भूमिगत मेट्रो स्टेसनतर्फ भागेका थिए । आक्रमणबाट करिब १३० वटा आवासीय तथा प्रशासनिक भवनमा क्षति पुगेको छ ।
किभको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या २७ पुगेको पुष्टि गरेका छन् । नीपर नदीको देब्रे किनारमा रहेको पूर्वी उपनगरको भग्नावशेषबाट पाँचवटा शव निकालिएको र आठ जना अझै बेपत्ता रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी उनले दिएका छन् । उद्धार टोलीहरूले रातभरि भग्नावशेष सफा गर्ने र फसेकाहरूको खोजी गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् ।
युक्रेनी वायुसेनाका अनुसार रुसले रातभरमा ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको थियो। वायुसेनाका प्रवक्ता युरी इह्नातले रुसले प्रयोग गरेका ब्यालिस्टिक मिसाइलहरूको सङ्ख्या असामान्य रूपमा बढी भएको र तिनलाई रोक्ने (इन्टरसेप्ट गर्ने) दर कम रहेको बताए । युक्रेनले हालैका महिनाहरूमा अमेरिकी प्याट्रियट मिसाइलहरूको चरम अभाव झेल्दै आएका कारण रक्षा प्रणाली कमजोर बन्दा मानवीय क्षति बढी भएको वायुसेनाको भनाइ छ ।
आयरल्यान्डको भ्रमण छोट्काएर हतारहतार स्वदेश फर्किएका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आधा भत्किएको ९ तल्ले आवासीय भवनको निरीक्षण गरे। निकै थकित र निराश देखिएका जेलेन्स्कीले यस विनाशको आंशिक दोष पश्चिमी सहयोगी राष्ट्रहरूमाथि थुपारेका छन् । “यदि हाम्रा साझेदारहरूले आफ्ना वाचाहरू समयमै पूरा गरेर वायु रक्षा प्रणाली उपलब्ध गराएको भए, हामीले आज धेरै घर र जीवनहरू बचाउन सक्थ्यौँ,” जेलेन्स्कीले आक्रोश पोखे ।
उनले आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा अर्को हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको मुख्य एजेन्डा वायु रक्षा प्रणाली हुने प्रस्ट पारे। उनले युरोपेली देशहरूलाई रुसी ब्यालिस्टिक मिसाइलहरू विरुद्ध रक्षा गर्न आफ्नै पर्याप्त रक्षा क्षमता विकास गर्न पुनः आह्वान गरेका छन् ।
अर्कोतर्फ, रुसी रक्षा मन्त्रालयले लामो दूरीका र सटिक निशाना लगाउने हवाई, जमिन र समुद्री हतियार प्रयोग गरी किभ र अन्य स्थानका सैन्य तथा ऊर्जा सुविधाहरू एवं विमानस्थलहरूलाई सफलतापूर्वक निशाना बनाएको दाबी गरेको छ । क्रेमलिनले यो आक्रमण रुसमाथि युक्रेनले गरेको ड्रोन हमलाको बदला भएको बताएको छ। हालै युक्रेनले रुसको निज्नी नोभगोरोड क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको थियो, जसमा एक जनाको मृत्यु भएको थियो ।
यसैबीच, किभका मेयर भिटाली क्लिट्स्कोले शुक्रबारका लागि किभमा शोक दिवसको घोषणा गरेका छन्। युक्रेनी रेडक्रसले किभमा रहेको आफ्नो मानवीय सहायता गोदाम रुसी आक्रमणमा परी पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ ।
गोदाम नष्ट हुँदा त्यहाँ भण्डारण गरिएका ३ लाख २० हजार थान आपत्कालीन राहत सामग्री जलेर नष्ट भएका छन्, जसले युक्रेनभरिको मानवीय कार्यमा ठुलो धक्का पुर्याएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जनघनत्व भएका क्षेत्रहरूमा गरिएको यस घातक आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। यसैबीच, राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग शान्ति वार्ताको प्रस्ताव राखे पनि क्रेमलिनले त्यसलाई अस्वीकार गरिदिएको छ । जेलेन्स्कीले नेटो शिखर सम्मेलनको साइडलाइनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी युद्धको निकासबारे कुरा गर्ने आशा व्यक्त गरेका छन् ।



















