१९ असार, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४२ जना चालकहरू कारबाहीमा परेका छन् । तीव्र रूपमा गरिएको यस विशेष चेकिङ र कारबाहीबाट २४ घण्टाभित्रै राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।
कार्यालयको विस्तृत विवरण अनुसार सबैभन्दा बढी कारबाही अन्य विविध ट्राफिक नियम पालना नगर्ने १ हजार २४९ जनामाथि भएको छ। यस्तै, सडकमा तीव्र गतिमा सवारीसाधन हुइँक्याउने १७३ जना र लेन अनुशासन पालना नगर्ने १२८ जना चालकहरू कारबाहीको दायरामा आएका छन् ।
प्रहरीले नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२१ जना, सङ्केत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन गर्ने ८७ जना र निषेधित क्षेत्रमा हर्न बजाउने ८७ जनालाई पनि जरिवाना गराएको छ ।
यसै गरी, सडकपेटी (फुटपाथ) मा जथाभाबी ‘पार्किङ’ गर्ने ८५ जना, मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५६ जना र एकतर्फी (वान वे) सडकमा सवारी मोड्ने ५६ जना चालकहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



















