१९ असार, काठमाडौं । नेतृत्व, सुशासन, विकास व्यवस्थापन र सकारात्मक रूपान्तरणका विषयमा केन्द्रित नयाँ पुस्तक ‘प्रशंसनीय नेतृत्व’ सार्वजनिक भएको छ। स्थानीय सरकारको योजना तर्जुमा तथा विकास व्यवस्थापनका विज्ञ डा. आरसी लामिछानेद्वारा लिखित यो पुस्तक ‘प्रशंसनीय खोज’ (Appreciative Inquiry) को दर्शनमा आधारित रहेर नेतृत्व र शासन प्रणालीलाई नयाँ दृष्टिकोणबाट व्याख्या गर्ने प्रयास गरिएको कृति हो।
लेखकका लामिछानेका अनुसार पुस्तकले व्यक्ति, संस्था, स्थानीय सरकारदेखि राष्ट्रिय नेतृत्व तहसम्म परम्परागत रूपमा समस्या र कमजोरीमा केन्द्रित हुने सोचलाई परिवर्तन गर्दै क्षमता, सम्भावना, सफलता र सहकार्यमा आधारित नेतृत्व संस्कृतिको विकासमा जोड दिएको छ।
पुस्तक २३ अध्यायमा विभाजित छ। यसमा नेतृत्व विकास, मानव स्रोत व्यवस्थापन, सकारात्मक सञ्चार, द्वन्द्व व्यवस्थापन, सामाजिक न्याय, जलवायु परिवर्तन, स्थानीय तथा प्रादेशिक आर्थिक विकास, योजनाबद्ध विकास, अन्तर्राष्ट्रिय अनुभव तथा समाजवाद उन्मुख आर्थिक विकासका अवधारणालगायत विविध विषयलाई व्यावहारिक रूपमा समेटिएको छ।
लेखकले प्रतिकूल परिस्थितिलाई अवसरमा रूपान्तरण गर्ने नेतृत्व शैली विकास गर्न आवश्यक नीति, सोच र व्यवहारबारे विस्तृत विश्लेषण गरेका छन्। पुस्तक राजनीतिक नेतृत्व, जनप्रतिनिधि, प्रशासक, विकासकर्मी, शिक्षाविद्, अनुसन्धानकर्ता तथा परिवर्तनका संवाहकका लागि उपयोगी मार्गदर्शक बन्ने विश्वास व्यक्त गरिएको छ।
पुस्तकमा विशेष गरी संघीय, प्रादेशिक तथा स्थानीय तहका जनप्रतिनिधिहरूका लागि प्रभावकारी शासन सञ्चालनका व्यावहारिक उपाय प्रस्तुत गरिएको छ। नीति निर्माण, जनविश्वास अभिवृद्धि, सकारात्मक रूपान्तरण र परिणाममुखी नेतृत्वका लागि केवल राजनीतिक इच्छाशक्ति पर्याप्त नहुने उल्लेख गर्दै प्रमाणमा आधारित निर्णय, सहकार्य, समावेशी नेतृत्व र दीर्घकालीन सोचको आवश्यकता औँल्याइएको छ।
कृतिमा समेटिएका विषयहरूले संसद सदस्यहरूलाई राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर साझा राष्ट्रिय एजेन्डा निर्माण, नवप्रवर्तनमा आधारित नीति विकास, नागरिकसँगको विश्वास सुदृढीकरण तथा विकासका नयाँ सम्भावनाको खोजी गर्न प्रेरित गर्ने लेखकको अपेक्षा छ।
पुस्तकमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास, योजनाबद्ध विकास, समाजवाद उन्मुख आर्थिक रूपान्तरण, रुवाण्डा र चीनका विकास अनुभव, सकारात्मक सञ्चार, गतिशील टोली निर्माण तथा समावेशी शासनका अभ्यासलाई समेत समेटिएको छ। यी विषयले जनप्रतिनिधिलाई आफ्नो निर्वाचन क्षेत्रका स्रोत, सीप, उद्यम र सामाजिक पूँजीको प्रभावकारी उपयोग गरी रोजगारी सिर्जना, उत्पादन वृद्धि, सामाजिक न्याय र दिगो विकासका कार्यक्रम अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
लेखकको निष्कर्षमा, यदि पुस्तकमा प्रस्तुत अवधारणा र अभ्यासलाई नेतृत्व, नीति निर्माण तथा संसदीय अभ्यासमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा जनप्रतिनिधिहरू केवल कानुन निर्माणकर्तामा सीमित नरही राष्ट्रिय रूपान्तरणका नेतृत्वदायी पात्रका रूपमा स्थापित हुन सक्नेछन्। पुस्तकले चुनौतीलाई अवसरमा बदल्ने, जनविश्वासलाई विकासको ऊर्जामा रूपान्तरण गर्ने तथा समृद्ध, न्यायपूर्ण र समावेशी नेपालको निर्माणका लागि नयाँ नेतृत्व संस्कृतिको आधार तयार गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ।


















