Logo

२० असार, काठमाडौँ । नयाँ वर्ष २०८३ सुरु भएयताको छोटो अवधिमै मुलुकभर भएका विभिन्न विपद्‌जन्य घटनामा परी १२७ जना नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि १९ गतेसम्मको अवधिमा मुलुकभर २ हजार ७२१ वटा साना–ठुला विपद्‌का घटनाहरू भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले सार्वजनिक गरेको पछिल्लो विपद् बुलेटिन अनुसार यी घटनाहरूमा परी १२७ जनाको मृत्यु हुनुका साथै ७७३ जना घाइते भएका छन् । यस्तै, मुलुकभर गुडिरहेको विपद्‌को यो चक्रबाट कुल ३ हजार ७२२ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार यस वर्ष मानवीय क्षतिको हिसाबले सबैभन्दा घातक ‘सर्पदंश’ देखिएको छ। तराई तथा मध्यपहाडी क्षेत्रमा बढेको गर्मीसँगै भएका ३९८ वटा सर्पदंशका घटनामा २३ जनाले ज्यान गुमाएका छन् भने ३७५ जना घाइते भएका छन् । यस्तै, हिमाली क्षेत्र तथा ट्रेकिङका क्रममा लेक लाग्ने (हाई अल्टिच्युड) ५४ वटा घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । प्राकृतिक प्रकोपका रूपमा रहेको चट्याङका २०५ वटा घटनामा १९ जनाको ज्यान गएको छ भने ९८ जना घाइते भएका छन् ।

यस अवधिमा घटनाको सङ्ख्याका आधारमा भने ‘आगलागी’ सबैभन्दा बढी दर्ता भएको छ। मुलुकभर भएका ८३० वटा आगलागीका घटनामा परी १७ जनाको मृत्यु हुनुका साथै १०० जना घाइते भएका छन् । यस्तै, वन्यजन्तुको आक्रमणका १४७ घटनामा १४ जनाको मृत्यु र ८२ जना घाइते तथा ४७४ वटा हावाहुरीका घटनामा १३ जनाको मृत्यु र ६७ जना घाइते भएका छन् । यसबाहेक बाढी, पहिरो, भारी वर्षा, डुङ्गा पल्टिँदा, वन डढेलो तथा हिउँपहिरोका कारण पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।

यता मुलुकभर विपद्‌को जोखिम कुन हदसम्म बढेको छ भन्ने कुरा पछिल्लो २४ घण्टाको तथ्याङ्कले पनि पुष्टि गर्छ।  प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशका विभिन्न २७ जिल्लामा ३१ वटा विपद्का घटनाहरू रेकर्ड भएका छन् । ती घटनाहरूमा परेर मात्रै एक जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन् ।

प्रि-मनसुनको सक्रियता र खडेरीको दोहोरो चपेटाका कारण आगलागी, चट्याङ र सर्पदंश जस्ता जोखिमहरू अझै बढ्न सक्ने भन्दै प्राधिकरणले स्थानीय प्रशासन तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र पूर्वतयारी चुस्त राख्न आग्रह गरेको छ ।


सम्बन्धित समाचार