Logo

२० असार, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका सुरक्षा युनिटहरूले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत ठुलो सफलता हात पारेका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानमा चलाएको विशेष सर्च अपरेसनका क्रममा एकै दिन २१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरू जिल्ला अदालत रौतहटबाट बैंकिङ कसुर (चेक अनादर), कीर्ते नागरिकता र सवारी अङ्गभङ्ग लगायतका विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तथा जरिवाना तोकिएका व्यक्तिहरू हुन् । अदालतबाट फैसला भई दण्ड जरिवाना तोकिए पनि उनीहरू लामो समयदेखि कानुनको आँखा छलेर लुकिछिपी बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी चेक अनादर मुद्दाका प्रतिवादीहरू रहेका छन् । सो मुद्दामा देवेन्द्र राजत बरै, राजकिशोर साह, सुशील पटेल, रामनाथ सहनी, रोकेश पटेल, दिपेन्द्र प्रसाद पटेल, रामबाबु प्रसाद पटेल र शिवनाथ प्रसाद जयसवाल पक्राउ परेका हुन् ।

यसैगरी सोही मुद्दाका अन्य फरार प्रतिवादीहरू धर्मेन्द्र कुमार दास, कमेश्वर प्रसाद महतो, अमामुलदिन, बिजेश पटेल, मनोज कुमार राजत, पुनित प्रसाद यादव, जयराम मुखिया, विन्देश्वर प्रसाद पटेल र कृष्ण लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रवक्ता गौतमका अनुसार नागरिकता र कीर्ते मुद्दामा वर्षौँदेखि फरार रहेका रुपेश राय, प्रमुनन्दन प्रसाद यादव र रंजिता कुमारी यादव तथा सवारी अङ्गभङ्ग मुद्दाका दोषी प्रमोद कुमार चौधरीलाई समेत प्रहरीले सुराकीका आधारमा नियन्त्रणमा लिन सफल भएको छ ।

लामो समयको अन्तरालपछि शुक्रबार पक्राउ परेका सबै २१ जना प्रतिवादीहरूलाई कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तान र फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको छ ।

जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न तथा ‘अपराध गरेर उम्किन पाइँदैन’ भन्ने कानुनी मान्यतालाई स्थापित गर्न यो विशेष अभियान थालिएको रौतहट प्रहरीले जनाएको छ। प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्यमा जुटेको जनाएको छ ।


सम्बन्धित समाचार