Logo

२१ असार, काठमाडौं । बर्डफ्लु रोगका कारण ठुलो आर्थिक नोक्सानी बेहोरेका किसानहरूका लागि सरकारले ५० करोड रुपैयाँ क्षतिपूर्ति रकम निकासा गरेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयले रकमान्तर (बजेट स्थानान्तरण) गरी यो रकम पशुसेवा विभागलाई उपलब्ध गराएको हो।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार, यो रकमबाट पीडित किसानहरूलाई उनीहरूको कुल क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति वितरण गरिनेछ।

बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ को कानुनी व्यवस्था अनुसार नै प्रमाणित विवरणका आधारमा यो राहत बाँड्न लागिएको हो।
विगत चैत महिनादेखि देशको पूर्वी क्षेत्रबाट फैलिएको बर्डफ्लु हालसम्म ११ जिल्लामा पुगिसकेको छ।

सङ्क्रमण थप फैलिन नदिन र भाइरसको स्वरूप बदलिने जोखिम कम गर्न काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा कडा कदम चालिएको थियो।

ती प्रभावित जिल्लाहरूमा हालसम्म करिब ७ लाख पन्छी, ११ लाख गोटा अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको विभागले जनाएको छ।

यसरी पन्छी र दाना नष्ट गर्दा किसानहरूको करिब ७० करोड रुपैयाँ बराबरको क्षति भएको थियो।


सम्बन्धित समाचार