Logo

२१ असार काठमाडौं । सरकारले साविकको शहरी विकास मन्त्रालयमातहत ५१ आयोजनालाई रुग्ण आयोजनाका रुपमा पहिचान गरेको छ ।

पूर्वाधार विकास मन्त्रालयले साविकको शहरी विकास मन्त्रालयमातहत ५१ आयोजनालाई रुग्ण आयोजनाका रुपमा पहिचान पहिचान गरी रुग्ण आयोजना सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार रुग्ण आयोजना, ठेक्का तोडिएका परियोजना तथा प्रतिफलविहिन लगानीको समस्या समाधान गर्न अध्ययन गरी सिफारिससहितको प्रतिवेदन तयार पारिएको छ । सो प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित विभाग र कार्यालयमा पठाइएको छ ।

शहरी विकास अन्तर्गत रुग्ण पहिचान भएका आयोजनासम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ भने ५१ वटै रुग्ण आयोजनाको हालसम्मको अध्यावधिक कार्यप्रगति उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।

मन्त्रालयका अनुसार ठेक्का सम्झौतापछिको व्यवस्थापनसम्बन्धी कार्यविधिको परिमार्जन मस्यौदा समेत मन्त्रालयमा पेश भएको छ । रुग्ण आयोजना तथा प्रतिफलविहिन लगानीको औचित्य र निरन्तरताबारे सिफारिस गर्न कार्यदल गठन गरी प्रतिवेदन तयार पार्ने काम समेत जारी रहेको प्रगति सूचीमा उल्लेख गरिएको छ ।

आयोजना छनोटदेखि भुक्तानीसम्मको प्रक्रिया डिजिटल रुपमा

मन्त्रालयले आयोजना छनोटदेखि भुक्तानीसम्मको प्रक्रिया डिजिटल रुपमा अनुगमन गर्न करार अनुगमन प्रणाली लागू गर्ने तयारी समेत गरिएको छ ।

मन्त्रालय मातहतका निकाय अन्तर्गत एक हजार १७३ ठेक्काको विवरण प्रणालीमा अध्यावधिक समेत गरिएको छ । बाँकी ठेक्काको सम्झौता, कार्यान्वयन प्रगति, भुक्तानी, भेरिएसन आदेश तथा माइलस्टोन सम्बन्धी विवरण अध्यावधिक गर्ने काम समेत जारी रहेको बताइएको छ ।

 


सम्बन्धित समाचार