२१ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ र २४ को घटनाक्रमपछि आफूहरू अस्तित्व रक्षाको कठिन मोडमा उभिएको खुलासा गरेका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो समयमा आफूहरू ‘किचिक्क परेर मिचिने वा मारिने’ अवस्थामा पुगेको र पार्टीको शक्तिभन्दा पनि विश्वको भू-राजनीतिक परिस्थितिले आफूहरूलाई बचाएको दाबी गरे।
प्रचण्डले भदौ २३(२४ पछिको अवस्थालाई सम्झिँदै त्यसबेला पार्टी कार्यकर्ता वा लडाकुहरूको शक्तिले नभई अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भू-राजनीतिक द्वन्द्वका कारण आफूहरू जोगिएको विश्लेषण ग रे। उनले भने, ‘हामी किचिक्क परेर मिचिने ठाउँमा थियौँ। प्रतिक्रियावादीले चाहेको भए एकैछिनमा जे पनि हुन सक्थ्यो, तर बचियो ।
हामीलाई न जुलुसले बचायो, न युवाहरूले। विश्वका शक्ति केन्द्रहरूको ‘कोलुजन एण्ड कन्टेन्सन’ (एकता र संघर्ष) ले गर्दा हामी बच्न सफल भयौँ ।’
प्रचण्डले त्यसबेलाको राजनीतिक माहोलमा आएको नाटकीय परिवर्तनबारे पनि चर्चा गरे ।
भदौ २४ मा आफूहरूलाई सिध्याउन खोज्ने वा विध्वंस मच्चाउनेहरूकै तर्फबाट २६ गते राष्ट्रपति कार्यालयमा बोलाइनुलाई उनले ‘अनौठो’ घटनाका रूपमा लिए ।
उनले भने, ‘२६ गते राति फेरि हामी त सल्लाह गर्ने ठाउँमा पुग्यौँ । हामीले त सोचेका पनि थिएनौँ कि हामीलाई प्रधानसेनापतिले राष्ट्रपति कार्यालयमा बोलाएर सुझाव लेलान्, तर अनपेक्षित रूपमा त्यही भयो ।’



















