Logo

२१ असार, (माडी) चितवन। बिहान घाम राम्ररी नउदाउँदै एउटा मानिस हातमा गुलेली लिएर बगैँचातर्फ दौडिन्छ। उसको काम खेती गर्नु होइन, फल टिप्नु पनि होइन। दिनभरि उसको एउटै जिम्मेवारी हुन्छ—बाँदर लखेट्नु।

कहिलेकाहीँ गुलेलीको ढुङ्गा उड्छ, बाँदर केहीबेर भाग्छन्। तर केही मिनेटमै फेरि अर्को कुनाबाट एक हुल खेतभित्र पस्छ। गुलेलीले केही क्षण भगाउन सकिए पनि किसानको भविष्य जोगाउन सक्दैन।

चितवनको माडीस्थित सूर्य पाठकको पाँच बिघामा फैलिएको पाठक बहुउद्देश्य कृषि फर्म अहिले यही पीडाको साक्षी बनेको छ।

कोभिड–१९ पछि विदेश वा शहरतिर होइन, आफ्नै पुर्ख्यौली सम्पत्तिमा फर्केर उनले एउटा सपना देखेका थिए—झाडीले ढाकिएको जमिनलाई आधुनिक कृषि फर्म बनाउने। वर्षौँको मेहनत, करोडौँको लगानी र अथक श्रमपछि उजाड जमिन हराभरा बगैँचामा परिणत भयो। आँप, लिची, ड्रागन फल, कागतीलगायतका बोटले फल दिन थाले।

तर विडम्बना, जुन दिन बोटमा फल लाग्न थाले, त्यही दिनदेखि किसानको निद्रा हराउन थाल्यो। अहिले बिहानदेखि साँझसम्म फर्ममा खेतीभन्दा बाँदरसँगको युद्ध चलिरहेको छ। सूर्य पाठकले खेती जोगाउन एक जनालाई नियमित रूपमा गुलेली बोकेर बाँदर धपाउने काममै खटाएका छन्। तर पाँच बिघाको बगैँचामा एक जनाले कुनाकुनाबाट आउने एक हुल बाँदर रोक्न सक्ने अवस्था छैन।

एउटा ठाउँमा मान्छे उभियो भने अर्को ठाउँबाट बाँदर पस्छन्। एकछिन भगायो, फेरि फर्केर आउँछन्, पाठक भक्कानिँदै भन्छन्, “दिनभरि यिनैसँग युद्ध गर्नुपरेको छ,”।

उनका अनुसार सुरुका वर्षमा बिरुवा साना हुँदा बाँदर खासै आउँदैनथे। अहिले बोटले फल दिन थालेपछि अवस्था उल्टिएको छ। करिब एक सयको हुलमा आउने बाँदरले केही घण्टामै पाकेका आँप झारिदिन्छन्, ड्रागन फलका फूल र हाँगा भाँचिदिन्छन्, आँगनमा सुकाइएका मकै बोकेर लैजान्छन्। महिनौँको मेहनत उनीहरूका लागि केही मिनेटको खेल बनेको छ।

किसानका लागि सबैभन्दा ठूलो पीडा उत्पादन कम हुनु होइन, आफ्नै आँखाअगाडि उत्पादन नष्ट भइरहेको हेरेर पनि केही गर्न नसक्नु हो। “ हिजोका दिनमा फल टिपेर बजार पठाउने दिन कुर्नुपर्थ्यो, तर अहिले  बाँदरले नष्ट गर्छकी भनेर कुर्नुपरेको छ,” उनी भन्छन्। “हामीले करोडौँ लगानी गरेर हुर्काएको बगैँचा सरकारले जोगाउन सकेन भने किसानले खेती किन गर्ने ?”

दैनिक बाँदर धपाउन थप मान्छे राख्ने हो भने उत्पादनभन्दा खर्च बढ्ने अवस्था छ। नहेर्ने हो भने बाँदरले सबै सखाप पार्छन्। यस्तो अवस्थामा खेती गर्नु र नगर्नु उस्तै बन्दै गएको उनी बताउँछन्।

यही समस्या बुझ्न गत असार १९ गते चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल स्वयं फर्म पुगेका थिए। उनले बाँदरले पुर्‍याएको क्षति अवलोकन गर्दै किसानले भोगिरहेको समस्याप्रति दुःख व्यक्त गरेका थिए। तर किसानको प्रश्न भने उही छ—सहानुभूति मात्रै कि समाधान पनि ?

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार बाँदर नियन्त्रण स्थानीय सरकारले मात्र गर्न सक्ने विषय होइन। “यो राष्ट्रिय समस्या बन्दै गएको छ, वन, संरक्षण र कृषि सम्बन्धी निकायबीच समन्वय गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने अवस्था छ,” उनले बताए।

तर सूर्य पाठकजस्ता किसानलाई अहिले नीति होइन, व्यवहारिक उपाय चाहिएको छ। गुलेली, कराउने आवाज र दिनभरि खेतमा दौडिने श्रमले बाँदर रोकिँदैन भन्ने उनीहरूले बुझेका छन्।

स्थानीयका अनुसार खेतीयोग्य जमिन बाँझो हुँदै जानु, गाईवस्तु पाल्ने चलन घट्नु र वनजङ्गल बाक्लिँदै जानुले बाँदरको संख्या उल्लेख्य रूपमा बढेको छ। त्यसको प्रत्यक्ष मार जङ्गलछेउका किसानमाथि परेको छ।

सूर्य पाठकको कथा एउटा किसानको मात्र होइन। माडीसहित देशका धेरै वन क्षेत्र आसपासका किसानको साझा पीडा हो। राज्यले कृषिमा लगानी बढाउन किसानलाई प्रेरित गरिरहेको छ। तर उत्पादन सुरक्षित गर्ने न्यूनतम व्यवस्था गर्न नसक्दा किसानको आत्मविश्वास भने दिनप्रतिदिन खस्किँदै गएको छ।

आज सूर्य पाठकको फर्ममा सबैभन्दा धेरै प्रयोग हुने कृषि औजार ट्र्याक्टर, स्प्रे मेसिन वा सिँचाइ उपकरण होइन—एउटा सामान्य गुलेली बनेको छ। तर प्रश्न अझै उस्तै छ—के गुलेलीले करोडौँको लगानी जोगाउन सक्छ त ?

यदि स्थानीय सरकार, संघीय सरकार र सम्बन्धित निकायले वन्यजन्तुबाट हुने क्षति रोक्ने प्रभावकारी नीति र प्रविधि तत्काल लागू गर्न सकेनन् भने सूर्य पाठकको मात्र होइन, कृषि उद्यममा भविष्य खोजिरहेका सयौँ किसानका सपना पनि बाँदरको हुलसँगै बिस्तारै उजाडिँदै जाने खतरा बढिरहेको छ।


सम्बन्धित समाचार