२१ असार, कपिलवस्तु । कपिलवस्तु प्रहरीले मोटरसाइकलको सिटमुनि लुकाएर ओसारपसार गरिँदै गरेको ५ लाख ४८ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ। घटनामा संलग्न मोटरसाइकल चालक भने प्रहरीलाई देख्नेबित्तिकै फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गए राति करिब १०.२२ बजे मायादेवी गाउँपालिका–२ स्थित पकडी–चाकरचौडा सडकखण्डमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले नियमित चेकजाँच गरिरहेको थियो।
सोही क्रममा चाकरचौडातर्फ जाँदै गरेको लु ३५ प ८७५७ नम्बरको होन्डा मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएको प्रहरीले जनाएको छ।
शंकास्पद अवस्थामा रहेको मोटरसाइकलको खानतलासी गर्दा सिटमुनि लुकाएर राखिएको नेपाली रुपैयाँ ५ लाख ४८ हजार ५ सय फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको नगद र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय कपिलवस्तु (सुठौली) पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीले फरार चालकको खोजीका साथै नगदको स्रोत र ओसारपसारको उद्देश्यबारे अनुसन्धान जारी रहेको जनाएको छ।



















