२२ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनप्रतिनिधिहरूलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् ।
यसअघि ठेकेदारहरूका विरुद्धमा विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएका मन्त्री लम्सालले यसपटक स्थानीय तहका मेयर र प्रदेश सरकारका मन्त्रीहरूलाई कारबाही गर्ने धम्की दिएका हुन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित रास्वपाका कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री लम्सालले जनउत्तरदायी नभएका जनप्रतिनिधिहरूलाई अब छुट नदिने बताए । ‘कुनै पनि स्थानीय तहका प्रमुख वा पदाधिकारीले जनताको काममा आलटाल गरे, नागरिकलाई दुःख दिए वा जिम्मेवारी पन्छाए त्यसको जानकारी हामीलाई दिनुहोस्,’ उनले भने, ‘मेयरदेखि प्रदेशका मन्त्रीसम्म कसैले काम गर्दैनन् भने हामी उनीहरूलाई कारबाही गर्छौँ, आवश्यकता परे थुन्छौँ।’
मन्त्री लम्सालको यो अभिव्यक्तिसँगै राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। यसअघि जेठ ३१ गते नागढुङ्गा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारका ‘खुट्टा भाँच्न’ निर्देशन दिएका थिए । उक्त अभिव्यक्तिले सामाजिक सञ्जाल र सरोकारवाला निकायबाट व्यापक आलोचना खेपेको थियो ।
एकपछि अर्को गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई नै कारबाही र थुन्ने चेतावनी दिनुले मन्त्री लम्सालको कार्यशैली र अभिव्यक्तिलाई लिएर बहस सुरु भएको छ । कानुनले तोकेको प्रक्रियाभन्दा बाहिर गएर यस्ता अभिव्यक्ति दिनु कति उपयुक्त हुन्छ भन्ने प्रश्न उठे पनि मन्त्री लम्सालले भने विकास निर्माण र सेवा प्रवाहमा देखिएको सुस्तता अन्त्य गर्न आफू दृढ रहेको सन्देश दिन खोजेका छन् ।



















