२३ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा डा.देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ ।
आयोगका अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहले डा. खत्रीलाई उक्त जिम्मेवारी सुम्पिएका हुन् । आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आयोगका सहअध्यक्ष एवं मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपाध्यक्ष खत्रीलाई औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गरेका छन्।
पछिल्लो समय सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशका कारण डा.अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बन्न पुगेको थियो ।
रिक्त पदमा काम चलाउन पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहकको जिम्मेवारी दिइएकोमा अब डा.खत्रीको नियुक्तसँगै आयोगले पूर्णता पाएको छ । चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र नियमनको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका डा.खत्रीको आगमनसँगै आयोगको कार्यसम्पादनले थप गति लिने अपेक्षा गरिएको छ ।



















