Logo

२३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद् र संविधानप्रति उत्तरदायी बनाउन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले सीमा विवादबारे प्रधानमन्त्री शाहले दिएको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै उक्त विषयमा जवाफ दिन प्रधानमन्त्री तयार नहुनु गम्भीर भएको बताउनुभएको छ । गत जेठ १७ गते संसद्‌मा भारतले नेपालको जग्गा मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनी प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिप्रति विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् ।

सांसद तामाङले रास्वपाका नेता तथा सांसदहरूलाई सम्बोधन गर्दै भन्नुभयो, ‘आफ्नो दलको नेतालाई संसद्प्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको पनि हो’ । प्रधानमन्त्री शाहलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने रास्वपाले अब यो विषयमा हस्तक्षेप गर्नुपर्ने समय आएको उहाँले बताउनुभएको छ ।

साथै, संसद्को गरिमा र मर्यादा जोगाउन सभामुखले प्रधानमन्त्रीलाई संसद्‌मा जवाफ दिनका लागि तत्काल रुलिङ गर्नुपर्ने माग गर्दै तामाङले प्रधानमन्त्रीका लागि संसद्बाहेक अर्को ठाउँ नभएको र उहाँ संसद्‌मा आएर आफ्नो कुरा सच्याउनुपर्नेमा जोड दिनुभएको छ ।


सम्बन्धित समाचार