२६ असार, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका ६ वटा प्रतिष्ठित स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ नेतृत्व पाएका छन् ।
शुक्रबार बिहान मन्त्री निशा मेहतासमक्ष आयोजित एक समारोहबीच नवनियुक्त ६ उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित विशेष समितिले गरेको सिफारिसका आधारमा उनीहरूलाई नियुक्त गरेको हो ।
शपथ लिनेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मान सिं प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा.स्मृति कार्की रहेका छन् ।
त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.अजय कुमार मिश्रले पनि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । स्वास्थ्य क्षेत्रका यी प्रमुख प्रतिष्ठानहरूमा भएको यो नियुक्तिसँगै अब चिकित्सा शिक्षा र सेवा प्रवाहमा नयाँ नेतृत्वको परीक्षा सुरु भएको छ ।



















